नम्रताको जाइरामा पहिलो क्याब्रे सङको रिमेक भर्सन

0
Shares

नायिका नम्रता श्रेष्ठको पछिल्लो फिल्म जाइरामा नेपालकै पहिलो क्याब्रे सङको रिमेक भर्सन हेर्न पाइने भएको छ । आगामी भाद्र ६ गते रिलिज हुने फिल्ममा आइटम सङका रूपमा जमानाको फिल्म मनको बाँधमा समावेश यो मात चढेको साँझमाको रिमेक भर्सन नम्रताको जाइरामा हेर्न पाइने भएको हो। युट्युबमार्फत सार्वजनिक गीतको रिमेक भर्सन ठमेल बजार गायिका मीना निरौलाले गाएकी छिन्।

यसअघि यो गीत मनको बाँधका लागि गायिका तथा संगीतकार मीरा राणाले गाएकी थिइन्। यो क्याब्रे सङमा तनुजा गुरुङले आकर्षक नृत्य गरेकी छिन्। तनुजालाई अडिसनमार्फत क्याब्रे डान्सका लागि छनोट गरिएको फिल्मको निर्माण समूहले जानकारी गराएको छ।

गीतमा किरण खरेलको शब्द रचना र शिवशंकरको संगीत रहेको छ। जाइराका लागि रिमेक गरिएको गीतमा फिरोज बज्राचार्य र डीजे राजुले रिएरेन्ज गरेका छन्। तत्कालीन शाही नेपाल चलचित्र संस्थानद्वारा निर्मित तथा प्रकाश थापाद्वारा निर्देशित मनको बाँध २०३१ सालमा रिलिज भएको थियो।

पर्दामा प्रायः लभर गर्लको भूमिकामा प्रस्तुत हुँदै आएकी नायिका नम्रता श्रेष्ठ यस फिल्ममा भने एक्सन अवतारमा दखिएकी छिन्। जाइरामा नायिका नम्रता श्रेष्ठ मिक्स मार्सल आर्ट खेलाडीको भूमिकामा छिन्। फिल्म आशुतोष राज श्रेष्ठले निर्देशन गरेका छन्। फिल्ममा नम्रताको साथमा अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमणदास श्रेष्ठसहित नवकलाकारहरू सिर्जना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शीर्ष भूमिकामा अभिनय गरेका छन्। कटामरी फिल्म्स्को ब्यानरमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्स प्रालिको ब्यानरमा प्रस्तुत फिल्ममा प्रशन्न गोपाली कार्यकारी निर्माता रहेका छन् भने पटकथा निर्देशक श्रेष्ठ र निरोज महर्जनले लेखेका छन्। बाबु श्रेष्ठको छायांकन रहेको फिल्म लोकेश बज्रचार्यले सम्पादन गरेका छन्।