वडा कार्यालय जलाएको भन्दै विप्लव कार्यकर्ताविरुद्ध किटानी जाहेरी

0
Shares

विमल विष्ट, डोटी ।
डोटी जिल्लाको शिखर नगरपालिका वडा नं. ७ को वडा कार्यालयमा आगजनी गरेको भन्दै सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका डोटी कार्यकर्ता दीर्घबहादुर कुँवरविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा किटानी जाहेरी परेको छ । आगलागीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजातहरु, फर्निचर, भवन सवै सखाप भएको भन्दै वडाअध्यक्ष नरवहादुर बलायरले कुँवर बिरुद्ध किटानी जाहेरी दिनुभएको प्रहरी श्रोतले जानकारी दिएको छ ।

उक्त वडा कार्यालयमा यहि साउन १२ गते राती आगजनी गरिएको थियो । त्यस्तै गत साउन ७ गते डोटीकै जोरायल गाउँपालिका वडान. ४ को वडा कार्यालयमा पनि अज्ञात समूहले आगजनी गरिएको थियो । आगजनीबाट वडाध्यक्ष र वडा सचिवको कार्यकक्षमा रहेका सम्पूर्ण कागजातहरु, फर्निचर लगायतका सामग्री जलेर नष्ट भएका छन् । घटनास्थलमा भेटिएको मोवाइल सेटको आधारमा प्रहरीले एक जना संकासपद व्यक्तिलाई नियन्त्रणमा लिएको भएपनि नाम भने सार्वजनिक गरेको छैन ।

वडाअध्यक्ष नन्दलाल भट्टले विप्लव समूहका स्थानीय एक कार्यकर्ताको संलग्नता भएको हुन सक्ने आशंका व्यक्त गरेपछि प्रहरीले मोवाईल र वडाअध्यक्षको भनाईलाई आधार मानेर पक्राउ गरेको बताईएको छ । त्यस्तै गएको जेठ महिनाको १४ गते राति बडीकेदार गाउँपालिका वडान. ४ मान्नाकापडीको वडा कार्यालयमा पनि आगजनी भएको थियो ।

वडा कार्यालय पूर्ण रुपमा क्षति भएको वडाध्यक्ष वीरेन्द्र केसीले वताउनुभयो । बिप्लब समूले नै आगजनी गरेको अड्कल र किटान गर्दै अहिले आगजनीमा परेका वडा कार्यालयका वडाअध्यक्षहरु किटानी जाहेरी दिन लागि परेका छन् । जिल्लामा रहेका स्थानिय तहका वडा कार्यालयमा सो पार्टिको संलग्नतामा नै आगजनी हुने गरेको निसकर्ष निकाल्दै यहाँका जनप्रतिनिधीहरु बिप्लब समूह संग आक्रोस हुन थालेको स्थानियबासीहरु बताउछन् । उनिहरु भन्छन्, “गलत गरेको भए कानूनी बाटो खोजौ जनताका संरचना जलाएर के काम ।”

जिल्लामा एकपछि अर्को गरी वडा कार्यालयमा आगो लागेपछि जनप्रतिनिधिहरुमा केही त्रास बढेको बताईएको छ । “तीन कार्यालयमा आगो लागिसक्यो, कुनै कारवाही भएको देखिदैन” शिखर नगरपालिका वडान. १ का वडाअध्यक्ष खडकबहादुर शाहीले भन्नुभयो, “ आगो लाग्दै गर्ने पक्राउ कोही नपर्ने हो भने अपराधीको मनोवल बढछ, गलत गर्नेलाई कानूनी सजाया हुनु पर्छ ।” उता जिल्ला कार्यालय डोटीका प्रमुख बिद्यानन्द माझीले वडा कार्यालयमा आगजनी भएको घटनाको सुक्ष्म अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शिखर र जोरायलको घटनामा संलग्न भएका केही पक्राउ परेका छन्, बडीकेदारमा आगजनी गर्नेको खोजी हुदै छ, चाडै सबै पक्राउ हुने छन् ।”