महिलालाई आत्मरक्षासहित रोजगारीको अवसर

विल्डिङ्ग इलेक्ट्रिसियन र सोलार टेक्निसियन तालिम


मोतीराम तिमल्सिना, काभ्रे । धुलिखेल नगरपालिकाले नागरिकहरुलाई समृद्ध बनाउने अभियान स्वरुप महिलाहरुलाई विल्डिङ्ग इलेक्ट्रिसियन र सोलार टेक्निसियन तालिम शुरु गरेको छ ।

ब्राकको नेपालको आर्थिक सहयोगमा युसेप नेपालद्वारा संचालित ३ सय ९० घण्टे तालिमको धुलिखेल नगरपालिकाले सहजिकरण गरेको छ । तालिमको उद्घाटन गर्दै धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले छोरी भएर केहि गर्न सकिदैन कि भन्ने सोच त्याग्न अनुरोध गर्नु भयो । ‘सिपलाई पेशामा बदली अवसरमा रुपान्तरण गर्न तालिम महत्वपूर्ण छ’–नगर प्रमुख ब्याञ्जुले भन्नु भयो–‘पेशा गर्न नलजाउनुस्, नहिच्किचाउनुस तपाई सफल हुनुुहुनेछ ।’

धुलिखेल नगरपालिकाले सिप भएर पनि ब्यवसाय गर्न नसक्ने सिमान्तकृत, दलित, अपाङ्गता भएका ब्यक्तिहरु र न्यून आय स्तर भएका ब्यक्तिहरुलाई मेयर गरिवी निवारण कोष मार्फत रकम उपलब्ध गराउने गरेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

‘अफ्ठयारोसँग जुध्न सिक्नुस, तपाईलाई परेको असहजता र अफ्ठयारोसँग नगरपालिकाले साथ दिनेछ’–नगर प्रमुख ब्याञ्जुले भन्नु भयो–‘सिप सिकेर ब्यवसाय गर्नुस र ब्यवसायी बन्नुहोस् ।’ कार्यक्रममा उपप्रमुख विमला शर्मा चौलागाईले महिलाहरु घर बाहिरका काम पनि गर्न सक्ने भएकाले तालिम माध्यम बनाउँदै आत्मनिर्भर बन्न र पेशाका रुपमा तालिमलाई प्रयोग गर्न आग्रह गर्नु भएको थियो ।

राजनीतिमा विस्तारै सक्रिय हुन थालेका महिलाहरुलाई आत्मनिर्भर बनाउन सिपमुलक तालिम आवश्यक भएकाले विभिन्न माध्यमबाट तालिम प्रदान गरिएको उपप्रमुख शर्माले बताउनु भयो । धुलिखेल नगरपालिकाले ४८ जना महिलाहरुलाई उक्त तालिम उपलब्ध गराउनेछ । यस अघि नगरका ५ सय भन्दा धेरै नागरिकले विभिन्न खालका तालिम लिई स्वरोजगार बनेका छन् ।

तालिम कार्यक्रममा ब्राक नेपालका खेमराज उपााध्यायले नेपालमा महिलाहरुको अवस्था विस्तारै उकासिन थालेकाले समृद्ध मुलुक बनाउन महिलाहरुको आर्थिक क्षेत्रमा पहुँच हुनु पर्ने बताउनु भयो । भुकम्पको समयमा ग्रामिण क्षेत्रमा शौचालय निर्माणकोे क्रममा १३ बर्षिया बालिका गर्भवति भएको, शौचालय निर्माण भए पनि पानी नभएका कारण प्रयोग नभएको जस्ता समस्यामा महिलाहरुको अवस्था दयनिय देखेर सिपका लागि सहयोग गरेको बताए । कमजोर र पछाडी परेका महिलाहरुलाई सिप सिकाउने र आत्मनिर्भर बनाउने अभियानमा ब्राक नेपालले निरन्तर सहयोग गर्ने उपााध्यायले बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासघं काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, बनेपा नेपाल पोलिटेक्निक स्कुलका तालिम संयोजक मोहन गजुरेल, युसेप नेपालका विनोद अमागाई, धुलिखेल नगरपालिकाका सामाजिक विकास अधिकृत विदुर गौतम लगायतले तालिम सिकेर ब्यवहारमा उतार्न अनुरोध गरेका थिए । तालिमलाई निरज खड्काले संयोजन गर्नु भएको छ भने मिलन गौतमले सह संयोजका रुपमा सहजिकरण गर्नु भएको छ ।

तालिममा इन्द्रमणी बडाल र रामकृष्ण तिमल्सिनाले प्रशिक्षण दिनेछन् । प्रशिक्षार्थीहरुलाई तालिम पश्चात आवश्यक सामाग्री सहित रोजगार उपलब्ध गराईनेछ । तालिमसँगै आत्मरक्षा सम्वन्धी तालिम समेत प्रदान गरिनेछ ।