प्रदेश पाँचमा लक्ष्य भन्दा ४० करोड २८ लाख बढी राजश्व संकलन

नदीजन्य पदार्थमा ४० करोड, केवलमा १६ करोड असुली


यमलाल भुसाल, बुटवल । प्रदेश पाँचको सरकारले प्रदेश भित्र राजश्व संकलनमा गत आर्थिक वर्षमा ११६ दशमलव ७८ प्रतिशतले  उपलब्धी हासिल गरेको जनाएको छ । सरकारले प्रदेशमा २ अर्व ४० करोड राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा २ अर्ब ८० करोड २८ लाख १ हजार राजश्व संकलन भएको जनाएको छ ।

सरकारले लिएको लक्ष्य भन्दा ४० करोड २८ लाख १ हजार रुपैयाँ बढी राजश्व उठाउन सफल भएको जनाएको छ । प्रदेश सरकारले प्रदेशमा राजश्व संकलनमा लिएको लक्ष्य अन्तर्गत वन रोयल्टी ५ करोड खानी रोयल्टी ५ करोड, पर्यटन सेवा सुबिधा रोयल्टी १ करोड र मनोरञ्जन कर रोयल्टी १ करोड उठाउने लक्ष्य लिएकोमा यी शिर्षकमा शुन्य राजश्व संकलन हुदाँ पनि लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ ।

त्यस्तै स्थानीय तहबाट आउनु पर्ने पूर्ण राजश्व अझै आईनसकेको र केन्द्रबाट आउनु पर्ने समानीकरण अनुदान लगायतका आउन बाँकी रहेकाले राजश्व संकलन अझै बढ्ने आर्थिक मार्मिला तथा योजना मन्त्रालयले दावी गरेको छ ।

प्रदेश सरकारले गत आर्थिक वर्षको बार्षिक समिक्षा बैठक पछि मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शंकर पोखरेलले राजश्व असुली लक्ष्य भन्दा करिव १७ प्रतिशतले वृद्धि भएको बताउनु भयो । उहाँले राजश्व असुलीको तथ्यांकलाई हेदा प्रदेश आर्थिक रुपमा सक्षम रहेको स्पष्ट भएको धारणा राख्नु भयो ।

प्रदेश सरकारले गत आर्थिक वर्षमा घरजग्गा रजिष्टेशन  दस्तुमा ६८ करोड लक्ष्य लिएकोमा ८१ करोड ६६ लाख असुली गरेको जनाएको छ । त्यस्तै सवारी साधन करमा १ अर्ब १४ करोड लक्ष्य लिएकोमा  १  अर्ब ५५ करोड ५० लाख  असुली गर्न सफल भएको छ । नदी जन्य ढुगां, गिर्टीर वालुवामा ४० करोडको लक्ष्य लिएकोमा लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ । प्रदेश सरकारले ४० करोड लक्ष्य लिएकोमा केवल १६ करोड ६० लाख मात्र संकलन गरेको छ । यसले प्रदेशमा नदी जन्य पदाथमा चोरी पैठारी भएको कुराको प्रमाणित गर्दछ ।

नदीजन्य पदाथमा चुहावट भएको भन्दै प्रदेश सभामा समेत कुरा उठेको थियो । प्रदेश सरकारले सेवा शुल्क दस्तुर दण्ड जरिवानामा ५ करोड लक्ष्य लिएकोमा २६ करोड ५१ लख ३८ हजार असुली गरेको छ भने विज्ञापन करमा १ करोड लक्ष्य लिएकोमा केवल ६३हजार मात्र राजश्व संकलन गरेको छ ।