असारे बजेट, पानीले स्वाहा


मोतीराम तिमल्सिना, काभ्रे । आर्थिक वर्षको अन्त्यमा प्राप्त अख्तियारीका कारण एउटै सडकमा विनियोजन भएको ७ करोड रकम खर्च नभई फिर्ता भएको छ । असार महिनामा प्राप्त अख्तियारी रकम खर्च हुँदा असार महिनामैै परेको पानीले स्वाहा बनाएको छ ।

असार २६ गते ३१ करोड ६७ लाख ३१ हजार ८ सय २९ रुपैयाको अख्तियारी सडक तथा पूल निर्माण शिर्षकमा प्राप्त भएको रकम खर्च हुन सकेन । पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकका नाममा प्राप्त अख्तियारी मध्येको करोडौ रकम फ्रिज भएको छ । ‘यता रकम फ्रिज भएको छ, गाउँमा सडक पैसा नभएकै कारण अलपत्र अवस्थामा छन्’–पूर्वाधार विकास कार्यालयका सव इन्जिनियर बासुदेव दाहालले भन्नु भयो –‘समयमै रकम र फाईल प्राप्त हुन नसक्दा तथा अन्य विविध कारणले सडक तथा पूल निर्माणका लागि विनियोजन भएको रकम खर्च हुन सकेन ।’ ‘पहिलो कार्यालय ढिलो स्थापना भयो, दोश्रो हस्तान्तरण गरिएका सडकका फाईल प्राप्त हुन सकेनन, तेश्रो प्राप्त फाईलको अख्तियारी समयमै आएन’–दाहालले भन्नुभयो –‘सकेसम्म उपभोक्ता समिति र ठेक्कामा लगाईएका सडक र पूलहरु निर्माण गर्ने प्रयास भयो, धेरै सडक अलपत्र परे, केहि सडकका योजनाहरु सम्झौता नै हुन सकेनन् भने केहिको सम्झौता भएर पनि काम हुन सकेन ।’

अख्तियारी आएका केहि सडकहरुमा विनियोजन भएको रकम खर्च हुन नसक्दा महत्वपूर्ण सडक अलपत्र परेका छन् । समयमै आएको अख्तियारी पनि संघिय सरकारबाट हस्तान्तरित सडकको फाईल प्राप्त हुन नसक्दा विनियोजन भएको रकम खर्च हुन सकेन । जिल्ला प्राविधिक कार्यालयबाट पूर्वाधार विकास कार्यालयका रुपमा भक्तपुर र काभ्रे हेर्ने गरी कात्र्तिकमा मात्रै धुलिखेलमा प्रदेश अन्र्तगतको कार्यालय स्थापना भयो । संधिय सरकारबाट हस्तान्तरित ९ वटा सडक मध्ये ५ वटा सडकको प्रकृया नै शुरु हुन सकेन । २०७५ मसिंर ३ गते अख्तियारी प्राप्त काभ्रेको लाकुरीभञ्ज्याङ्ग पनौती नमोबुद्ध दाप्चा सडक, भकुण्डेबेसी–खरदारपाटी–कानपुर–तिमाल–याङ्गबेल–मेच्छे सडक, दोलालघाट चौरी गुराँसे सडक, तिनपिप्ले बरुवा दोभान सडक र भक्तपुरको तेलकोट पञ्चमहालक्ष्मी मन्दिर छालिङ्ग साँखु सडकको ठेक्काको प्रकृया नै शुरु हुन सकेन ।

संघिय सरकारबाट हस्तान्तरण भएका उक्त सडकहरुको फाईल सडक डिभिजन कार्यालय भक्तपुरले पूर्वाधार विकास कार्यालयलाई असारको अन्तिम तिर मात्रै हस्तान्तरण गरेको थियो । सोहि शिर्षकमा रहेका धुलिखेल पनौती सडक अलपत्र पर्यो । जसको आधा काम सम्पन्न भयो भने बाँकी काम पुरा हुन नपाउँदै रकम फ्रिज भयो । १ करोड २६ लाख ५७ हजार रुपैया मध्ये ६० प्रतिशत भन्दा धेरै रकम फ्रिज भएको छ । भक्तपुर जिल्लाका केहि सडकहरुको कार्य सम्पन्न भएको छ । मागमा आधारित बजेट प्रदेश सरकारले ढिला गरी विनियोजन गरेको रकम हो ।

सांसदहरुको दबावमा विनियोजन गरेको रकमको अख्तियारी २०७६ बैशाख १० गते मात्र प्राप्त भयो । १७ वटा सडकको पहिलो चरणमा अख्तिारी प्राप्त भयो भने जेष्ठ ७ गते दोश्रो चरणमा ४ वटा सडकमा २ करोड भन्दा धेरै अख्तियारी प्राप्त भयो । विनियोजन भएका मध्ये पिप्ले देउराली भदौरी घ्याङ्गडाँडा सिन्धुली जोड्ने सडक रोशीगाउँपालिकाको ४० प्रतिशत मात्रै विस्तार भयो । पाँचखाल सिमाना मसरखोला भिडाबारी देउराली चरुवा हुँदै विपी राजमार्ग जोड्ने सडकमा २५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । दारिमबोट तार्के, खाक्सी भँडारे विपी राजमार्ग सडकको ४५ प्रतिशत काम भएको छ । भक्तपुरका केहि सडकहरु काम शत प्रतिशत सम्पन्न भएका छन् केहि अधुरा छन् ।

ढिलो गरी प्राप्त भएका बजेट र योजना ठेक्का लाग्नै कठिन र लागेका ठेक्काहरु समयमै सम्पन्न गर्न हम्मे हम्मे भएका छन् । उपभोक्ता समितिले गरेका अधिकांश कामहरु पनि पूर्ण हुन सकेका छैनन । संघले विनियोजन गरेका केहि योजनाहरुमा पनि ढिला गरी अख्तियारी प्राप्त भएको छ । सम्भावित प्रादेशिक सडकका रुपमा रहेका केहि सडक ठेक्कामा लागे भने केहि सडक उपभोक्ता समितिले निर्माण गरेका छन् । सडक पूर्वाधार ब्यवस्थापन अन्र्तगत प्राप्त योजनाहरुमा विनियोजन भएका रकम खर्च हुनै सकेनन् । लाकुरीभञ्ज्याङ्ग पनौती नमोबुद्ध दाप्चा सडकका लागि विनियोजन भएको ५ करोड रकमको प्रकृया नै शुरु भएन ।

उक्त सडकलाई सघिंय सरकारलल पनि १ करोड ५६ लाख ५७ हजार रुपैया विनियोजन गरेको थियो । प्रदेश र संघ दुवै सरकारले विनियोजन गरेको रकम खर्च हुन सकेन । खोपासी कामीडाँडा ताल्ढुंगा कर्र्मैया सडकमा विनियोजन भएको ३ करोड रकम मध्ये १ करोड २० लाख रुपैया मात्रै खर्च भएको छ । भक्तपुरको सुर्यविनायक १,२,३ नम्वर वडामा पर्ने सडकका लागि विनियोजन भएको ५ करोड रकम मध्ये आधा भन्दा धेरै फ्रिज भएको छ । मर्मत सम्भारका लागि प्राप्त शिर्षकका अधिकांश योजना फ्रिज भएका छन् । उक्त शिर्षकमा बैशाख ३० गते मात्रै अख्तियारी प्राप्त भएको थियो । जिबौखोला सडक पुल मण्डन, चाखोला सडकपुल भुम्लु मण्डन १०, बेतिनिखोला सडकपुल मण्डन १२, टोड्केखोला सडकपुल मण्डन ९ र १०, महादेवखोला पुल(नाला काशिभञ्ज्याङ्ग) बनेपा नपा, रोशी खोला सस्पेन्सन व्रिज, कटुञ्जे र नमोबुद्ध पनौती सुन्थान सडक संखेश्वरी खेलामा निर्माण हुने पुलका लागि विनियोजन रकम फ्रिज भएको छ । रोशी खोला माम्तीमा रहेको पुल आधा निर्माण भएको छ ।

प्रदेश सरकारले कृषि ज्ञान केन्द्र मार्फत सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका लागि १९ वटा सडकमा विनियोजन गरेको रकम मध्ये दयागाउँ महादेवटार खोल्मेडाँडा देउराली सडक खानीखोला ६ को २५ लाख विनियोजन भएकोमा १७ लाख ९५ हजार भुक्तानी भएको छ । १८ वटा सडकमा सत प्रतिशत कार्य सम्पन्न भएको मुल्यांकनका आधारमा भूक्तानी भएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

निर्माण भएका सडकको गुणस्तर तथा भुत्तानीका लागि योग्य नभएको स्थानीय उपभोक्ताहरुले बताएका छन् । कृषि ज्ञान केन्द्र सडक खन्ने निकाय नै होईन । स्थानीय सरकारले प्राविधिक उपलब्ध गराउने र रकम ज्ञान केन्द्रले गरेको छ । एउटै सडकलाई विभिन्न तहबाट रकम विनियोजन भएको र त्यहि सडकलाई विभिन्न स्थानमा विल भरपाई पेश गर्ने गरेको उपभोक्ताहरुले बताएका छन् ।

एक त असारे विकास गुणस्तरीय हुने कुरा सम्भव पनि भएन । अर्काे तिर असार नसक्दै परेको अविरल बर्षातका कारण भएको विकास पनि स्वाहा भएको छ । बजेट नसकिदै पानीले बाटो छिया छिया भएको छ । सडक र पुल निर्माण शिषर्कमा संघ र प्रदेश सरकारले सिधै स्थानीय सरकारलाई रकम नपठाउँदै समयमै कार्यान्वयन र गुणस्तर कायम गर्न कठिन देखिएको छ ।