आलोचनामै बिते डोटी जनप्रतिनिधिका दुई वर्ष


विमल विष्ट, डोटी । लामो समय देखी खाली रहेका जिल्लाका नौ वटा स्थानीय तहहरुमा नयाँ जनप्रतिनिधिहरु आएको दुई वर्ष पुरा भएको छ । जनप्रतिनिधीहरुको दुई वर्षे कार्यकालमा स्थानीय तहका काम कारवाहीहरुको भने प्रसंसा हुनुको साटो आलोचना बढी भएको पाईएको छ । दुई वर्षे कार्यकालमा जिल्लाका जनप्रतिनिधिहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेको यहाँका स्थानियबासीको आरोप छ ।

निर्वाचित जनप्रतिनिधीहरुले जिल्लामा जनताले सोचे अनुसारको काम र परिणामा देखाउन नसकेको दिपायल सिलगढी नगरपालिकाका पूर्व नगर प्रमुख घनस्याम पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “जनताले जुन आस गरेर जनप्रतिनिधी बनाएका थिए त्यसको खासै परिणाम देखिएन,जनता निरास हुनु ठिकै त हो नी ?” बिगतको सर्वदलीय संयन्त्रको जस्तै अहिलेका जनप्रतिनिधिहरुले पनि विकासलाई भागवण्डा गर्ने गरेको उहाँको आरोप छ ।

जिल्लामा हुने बिभिन्न योजनामा वार्गेनिङ्ग हुन थालेको र उपभोक्ता समिति वनाउँदा आफ्ना मान्छेहरुलाई अध्यक्ष वनाउने गरेकोले अहिलेका जनप्रतिनिधीहरुको आलोचना बढ्दै गएको नेपाली काग्रेस डोटीका पूर्व पार्टि उप सभापती दीपकबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको बिकास गर्ने ठाउँमा आफनो पराई भनेपछि आलोचना त हुने नै भयो, आफनो पराई भन्नु भन्दापनि कसरी जिल्ला र जनताको बिकास हुन्छ त्यस तर्फ लाग्नु पर्यो ।”

जिल्लामा रहेका केही स्थानीय तहहरुले जनअपेक्षा अनुसार राम्रो काम पनि गरेको उहाँकोे भनाई छ । जिल्लामा हुने बिभिन्न बिकासे योजनासंग पार्टीको सदस्यता साट्ने गरेको सामाजिक कार्यकर्ता शेरवहादुर मल्लले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा केही नीतिहरु वनेका छन्, त्यो सकारात्मक हो तर योजनासंग पार्टीको सदस्यता साट्नु गलत प्रबृति हो ।” त्यस्तै गैर सरकारी संस्था महासंघ डोटीका अध्यक्ष रघु कठायतले स्थानीय तहका जनप्रतिनिधिहरुमा काम गर्ने तौर तरिकानै नभएको वताउनुभयो । उहाँले भन्नुभयो, “जनप्रतिनिधिहरुको क्षमता भन्दा बढी काम दिईएको छ र आवश्यकता भन्दा बढी वजेट दिईएको छ, जसले गर्दा उनीहरु अलमलमा परेका छन् ।”

स्थानीय तहलाई आवश्यकता भन्दा बढी अधिकार दिएकाले कुनै खास उपलव्धी नदेखिएको उहाँको भनाई छ । त्यस्तै जिल्लामा २० सौ वर्ष देखी पत्रकारिता गर्दै आउनु भएका डोटीका सिनियर पत्रकार शंकर थापा स्थानीय तहहरुले कानून निर्माण गरेका भएपनि त्यसको व्यवहारिक कार्यान्वयन गर्न नसकेका कारण जनप्रतिनिधीको आलोचना बढेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “ जनअपेक्षा अनुसार काम हुन सकेको छैन, जनप्रतिनिधीहरु ठोस् र दिर्घकालीन योजना वनाउनुको सट्टा परम्परागत योजनामै अल्झिएका छन् ।” यद्दपी पहिलो वर्षको भन्दा गएको वर्ष केही सुधार भएको थपाको भनाई छ । उता कानुन व्यवासायी शंकरदीप मडैले जनप्रतिनिधीको दुई बर्षको कामको मुल्याङ्कन गर्दा शुन्य उपलव्धी रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“चुनावमा गरेका प्रतिवद्धताहरु र अहिलेका क्रियाकलापहरुमा कुनै तालमेल देखिदैन,त्यसैले उपलब्धि सुन्य भएको हो ।” जिल्लामा रहेका अधिकांस स्थानियबासीहरु जनअपेक्षा अनुसार जनप्रतिनिधीले काम गर्न नसकेको भन्दै आक्रोस पोख्न थालेका छन् ।

उता सुदूरपश्चिम गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष दुर्गादत्त ओझाले जिल्लामा जनप्रतिनिधीहरुको दुई वर्षे कालकालको खासै आलोचना नभएको दाबी गर्नु भयो । उहाँले भन्नुभयो, “केही ठाउँमा काम गर्दा बिबाद भयो होला तर समग्रमै आलोचना छ भन्न सकिन्न ।”