खोलाले बगाउँदा एक बालकको मृत्यु, एक बेपत्ता


भद्रपुर ।
साइकल चढेर घरबाट खेल्न निस्किएका एक बालकको खोलामा डुबेर मृत्यु भएको छ, भने एक जना बेपत्ता भएका छन् । खोलामा डुबेर झापा बाह्दशी गाउँपालिका २ बस्ने रोहित मलिक (डुम)को ११ वर्षीय छोरा सागरको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै खोलाले बगाउँदा सोही गाउँपालिका बस्ने सन्तोष मलिक (डुम)को १२ वर्षीय छोरा बादल बेपत्ता भएको जनाइएको छ ।

प्रहरीका अनुसार दुवै बालक घरबाट साइकल चढेर खेल्न निस्किएको र घाग्रा खोला तर्ने क्रममा साइकलसहित दुवै जनालाई खोलाले बगाएको हुन सक्ने जनाइएको छ । बाह्दशी १ सिप्ताबारी नजिक बिरीङ खोलामा साइकल तथा उनीहरूले लगाएको कपडा फेला परेपछि बालकद्धयको खोजी कार्य तीव्र बनाइएको थियो ।

खोज तलास गर्ने क्रममा साइकल तथा कपडा फेला परेको स्थान भन्दा ९ किलोमिटर दक्षिणमा बालक सागर मृत अवस्थामा फेला परेका थिए । बालक बादल अझै फेला नपरेको हुँदा उनको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।