भक्तपुरमा श्रीमती छाडेर श्रीमानले गरे प्रेमिकासँगै आत्महत्या


न्युज अफ नेपाल, काठमाडौं ।
भक्तपुरको बोडेमा एक प्रेम जोडीले झुण्डिएर आत्महत्या गरेका छन् । श्रीमतीलाई केही बेरमा आउँछु भन्दै एक हजार रुपैयाँ दिएर घरबाट निस्किएका सिन्धुपाल्चोक बाह्रबिसेका २१ वर्षीय जीवन र रामेछापको बेथान घर भई हाल जीवनसँग बस्दै आएकी १८ वर्षकी मंगली घिसिङले आत्महत्या गरेका हुन् ।

बोडेमा कोठा गरी बस्दै आएका उक्त जोडीले मंगलबार आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । जीवनकी श्रीमती रितु तामाङले ११ साउनमा श्रीमान्विरुद्ध उजुरी दिएकी थिइन्। अर्के केटीसँग लागेको र आफूलाई नहेरेको उजुरी दिएपछि प्रहरीले अबदेखि त्यस्तो नगर्ने सर्तमा दुबैको मिलापत्र गराएको थियो।

घरमा श्रीमती र दुई वर्षीया छोरी भएका युवाको अर्की केटीसँग प्रेम सम्बन्ध थियो । उनीहरू सँगै बस्न थालेका थिए । जीवन तामाङ सवारी चालक थिए । यो घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।