पहिरो प्रभावितलाई अस्थायी आवास


अनिल खत्री, गुल्मी । गुल्मीको सत्यवतीका पहिरो प्रभावितहरुलाई अस्थायी आवास निर्माण गर्न सुरु भएको छ । गत हप्ताको मगंलबार राती पहिरोले घरहरु जोखीम बनाएका परिवारहलाई अस्थायी आवास निर्माण सुरु भएको हो ।

जिल्लाको सत्यावती गाउँपालिका वडा नं ३ का पहिरो प्रभावितका लागि १७ वटा अस्थायी आवास निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भयो । जिल्ला सदरमुकाम तम्घासबाट नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सहितको टोलीले तत्काल बस्नको लागि आवास निर्माण गरिदिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) दिपककुमार बस्नेतले बताउनु भयो ।
सुरक्षा कर्मीले महिला पुरुषका लागि अलग अलग शौचालय पनि निर्माण गरिदिएका छन् । गाउँपालिकाका दुई स्थानमा गएको पहिरोमा ३ सय ७ घर प्रभावित भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको वडा नम्बर ३ र ४ को ठूलो लुम्पेक र लिम्घामा क्षती पुर्याउँदा १२ सय ६० जना प्रभावित भएका छन् ।

पहिरोले बिस्थापितलाई सोहि स्थानका धर्मपूर माबि, नवबिहानी प्राबि, धर्मपूर प्राबि, राम माबि, मनकामना प्राबि, साजपूर प्राबिमा राखिएको छ । एकै ठाउँमा धेरै बसोबास गर्दा समस्या आउने र ब्यवस्थित तरिकाले बसाइलाई ब्यवस्थापन गर्नका निम्ति अस्लेवाको देउडाँडामा ८ वटा र ठुलोलुम्पेकको देउरालीमा ९ वटा अस्थायी आवास निर्माण गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशकीय अधिकृत लक्ष्मण पाण्डेयले बताउनु भयो ।

अस्थायी रुपमा १७ बटा परिवारलाई पारिवारीक रुपमा आफना साम्रगीहरु राख्नका लागि सहज हुने गरि अस्थायी आवास निर्माण भएका हुन् । पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएर खाद्यान्न संकट आएपछि हेलिकप्टर मार्फत केहि राहत पहिरो प्रभावित क्षेत्रमा तेस्रो पटक पठाएको छ ।

सोमबार काठमाडौंबाट आएको नेपाली सेनाको हेलिकप्टर मार्फत तम्घासमा बिभिन्न संघ संस्थाबाट उपलब्ध भएको २३ क्विन्टल राहतका सामग्री हेलिकप्टर मार्फत प्रभावित क्षेत्रमा पुराइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भयो । यस अघि गत मंगलवार र बुधवार हेलिकप्टर मार्फत परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली सहितको टोलीले २० कुन्टल खाद्यान्न सहित राहत सामाग्री छोडेका थिए ।
प्रभावित क्षेत्रमा महामारि फैलन नदिन औषधी,स्वास्थ्य सहितको तयारी अबस्थामा राखिएको छ । प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य सहितको टोलीले स्थानियलाई हात धुने लगायतका स्वस्थ्य सम्बन्धी जानकारीहरु पनि गराई रहेको उपचारमा खटिएकी डक्टर शिला ढकालले बताउनु भयो ।

पहिरोमा परेर मंलवार सत्यवति गाउँपालिका २ वटा वडामा ३ वटा घरका १३ र आइतवार कालिगण्डकी गाउँपालिकाको वडा नम्बर ७ को छापचौरमा १ जना गरि १४ जनाको मृत्यु भएको छ । भने २ स्थानमा ७ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको काठमाडौं र ५ जनाको पाल्पामा उपचार भइरहेको छ ।

प्रभावित मध्ये पूर्ण क्षती तर्फ १७ वटा घर, ६१ वटा गोठ, ३६ वटा शौचालय रहेका छन् । आशिंक क्षतीमा १८ वटा घर, २३ वटा गोठ, १८ वटा शौचालय रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनु भयो ।

पहिरोमा पशु चौपायाँ तर्फ २८ वटा भैसी, १ गाई, ६७ वटा बाख्रा, २१९ वटा कुखुरा र १९ वटा बंगुर मरको प्रराम्भीर तथ्याङ्क संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।