सहुलियतपूर्ण कृषि ऋणका लागि समझदारी

प्रदेश–३ मा खुल्दै अवसरको ढोका


हेटौंडा । सहुलियतपूर्ण कृषिऋण तथा कृषि अनुदान परिचालनका लागि प्रदेश सरकार कृषि विकास बैंकबीच मंगलबार हेटौंडामा समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

प्रदेश–३ को भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास बैंक मुख्य कार्यालय काठमाडौंबीच सहुलियतपूर्ण ऋण र अनुदानमा हस्ताक्षर भएको हो । समझदारीसँगै प्रदेशका कृषक र कृषि क्षेत्रमा काम गर्नेहरुका लागि अवसरको ढोका खुल्ने विश्वास छ ।
समझदारीपत्रमा मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्की र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले हस्ताक्षर गर्नुभएको हो । १४ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरिएसँगै दुवै कार्यालयलाई काम गर्ने बाटो खुलेको त छ नै, चुनौती पनि थपिएको बताइएको छ ।

चालु आर्थिक वर्षमा कृषि प्राविधिक, बेरोजगार तथा विदेशबाट फर्किएका युवालाई सहुलियतपूर्ण कृषि ऋण उपलब्ध गराउन बैकसँग समझदारी गरिएको हो । प्रदेशका कृषक, कृषक समूह, सहकारी एवम् उद्यमी÷व्यबसायीलाई प्रवाह गरिने अनुदान कृषि विकास बैंकमार्फत् हुने व्यबस्था गरिने छ ।

किसानले उत्पादन गरेका सामान भण्डारण र बजारीकरणलगायतमा पनि सघाउ पुग्ने विश्वास छ । मन्त्रालयले कृषिलाई आधुनिकीकरणका लागि गत आर्थिक वर्षमा अनुदान, औजारलगायत सामान सहयोग गरेको थियो ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अबका तीन/चार वर्षमा कृषि क्षेत्रमा क्रान्ति ल्याउने गरी काम गरिनुपर्ने बताउनुभयो । समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा उहाँले सामूहिक खेती विकास गरेमात्र कृषि क्षेत्रमा अगाडि बढ्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो–समृद्धिका निम्ति मेहनत गरेर काम गर्नुपर्छ । त्यसैले प्रदेश सरकार र बैंक मिलेर काम गर्नुपर्छ । ठूला÷ठूला अक्षरमा लेखेर विभिन्न योजना ल्याउनुभन्दा व्यावसायिक कृषि क्षेत्रमा कर्जा लगानी गर्न उहाँले आग्रह गर्नुभयो ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले समृद्ध नेपाल र सुखी नेपाली बनाउन माटोमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले कृषि विकास बैंक र प्रदेश सरकारको सम्बन्ध राम्रोसँग अगाडि बढे किसानको हित हुने बताउनुभयो । कृषिलाई व्यावसायिकरण गरेमात्र विदेशबाट खाद्यान्न ल्याउनुपर्ने अबस्था न्यूनीकरण हुँदै जाने उहाँले बताउनुभयो ।

प्रदेशका भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जेलामाले बैंकसँगको सम्झौता कार्यान्वयन गरिने बताउनुभयो । किसानका निम्ति हरेक क्षेत्रमा काम गर्ने गरी मन्त्रालय अगाडि बढेको उहाँले दाबी गर्नुभयो । कृषिलाई वैज्ञानिकढंगले यान्त्रीकरण गरिने मन्त्री लामाले बताउनुभयो ।

कार्यक्रममा प्रदेशका नीति तथा योजना आयोग सदस्य श्याम बस्नेत र प्रमुख सचिव आनन्दराज ढकाललगायतको उपस्थिति थियो ।