हट्यो चट्टान समाउँदै हिँड्नुपर्ने बाध्यता


हेटौंडा । मकवानपुरको अतिबिकट राक्सिराङ गाउँपालिका–४ मा रहेको परेवाभीरमा दैनिक ज्यान जोखिममा राखेर हिँड्न बाध्य यात्रुहरुको सुबिधाका लागि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले पैदलमार्ग निर्माण गरेका छन् ।

बाटो निर्माणका लागि लगिएको एउटा ट्रयाक्टर बगाएको थियो । पैदल हिँड्ने साँघुरो बाटो पनि भत्किएपछि भीरको बाटोमा चट्टान समाउँदै हिँड्नुपर्ने बाध्यता थियो ।

दुर्गम राक्सिराङका ४ र ९ नम्बर वडा तथा कैलाश गाउँपालिकाको वडा–१, २, ७, ८ का बासिन्दा यही बाटो भएर र दैनिक उपभोग्य सामग्री खरिद गर्न तथा अन्य प्रशासनिक कामका लागि परेवाभीरमा ज्यान जोखिम मोलेर गाउँपालिका केन्द्र चैनपुर तथा मनहरी बजार आउनुपर्ने बाध्यता छ ।

वडाध्यक्ष सञ्जय कोइरालाको पहल तथा अगुवाइमा नेपाल कम्युनिष्ट पार्टीका स्थानीय वडा कमिटीका अगुवाहरुले पैदलमार्ग निर्माण गरेका हुन् । बाटोमा दैनिक जोखिम मोल्दै यात्रा गर्नुपर्ने बाध्यता थियो । वर्षामा बाटो सुधारका लागि कहींकतैबाट आर्थिक स्रोत उपलब्ध नभएपछि जनश्रममै आधारित रही बाटोको काम गरिएको अध्यक्ष कोइरालाले बताउनुभयो ।

प्रदेश–३ सांसद् ओमबहादुर ग्लानले परेवाभीरलाई काटेर चालु आर्थिक वर्षमा सडक खन्न प्रदेश सरकारसमक्ष माग गर्नुभएको छ । राक्सिराङ गाउँपालिकाले पनि परेवाभीर खण्डमा बाटो बनाउन १ करोड बिनियोजन गरेको अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।