भक्तपुरको बोडेमा युवक र युवतीको शव झुण्डिएको अवस्थामा


पुष्कर बुढाथोकी, भक्तपुर । भक्तपुरको बोडेमा एक युवक र युवतीको शव भेटिएको छ । बोडेमा डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसेका २१ वर्षे जिवन तामाङ्ग र रामेछाप जिल्लाका बेथान घर भएकी १८ वर्षकी मंगली घिसिङको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । जिवन र मंगलीबीच प्रेम सम्बन्ध भएकाले संगै बस्दै आएको अनुमान गरिएको छ ।

जिवन र मंगली घिसिङ्गको शव उनीहरु बस्दै आएको कोठमा फेला परेको प्रहरीले जनाएको छ । घरमा श्रीमती हुदाँ हुदैं बाहिर युवतीसंग प्रेम सम्बन्धको बारेमा बाहिर हल्ला भएपछि उनीहरुले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाउँछ । महानगरिय प्रहरी बृत्त थिमिका प्रमुख प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले घटनाबारेमा अनुसन्धान भइरहेको बताउनुभयो ।

कोईरालाका अनुसार जिवनकी श्रीमती रितु तामाङ्गले केही दिन अगाडी आफ्नो श्रीमान अर्को युवतीसंग लागेर आफुलाई बेवस्ता गरेको भन्दै निवेदन दिएकी थिइन् । त्यसपछि प्रहरीले जिवनलाई बोलाएर रितुसंग छलफल गरेको र सोमबार जिवनले अब मंगलीसंग नबस्ने भन्दै प्रतिवद्धता समेत जनाएका थिए ।

प्रहरी बृत्त थिमिका प्रमुख प्रहरी नायव उपरिक्षक कोइरालाले दुई जनाको शव पोस्र्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको र थप अनुसन्धान भईरहेको बताउनुभयो । २१ वर्षका जिवन तामाङ्ग पेशाले सवारी चालकको काम गर्ने गर्दर्थे । जिवनकी श्रीमती रितु तामाङ २ वर्ष यता कहिले सिन्धुपाल्चोक त कहिले काठमाडौं बस्दै आएकी थिइन् । श्रीमानको व्यवहार ठिक नलागेपछि उनले यहिँ साउन ११ गते महानगरिय प्रहरी वृत्त थिमिमा उजुरी दिएपछि प्रहरीले जिवनलाई बोलाएर छलफल गरेको थियो ।

जीवनले प्रहरीसंगको छलफलमा “अब रितुसंग नै बस्छु भन्ने” प्रतिवद्धता समेत व्यक्त गरेका थिए । उनले प्रहरीसंगको छलफलमा श्रीमती रितुलाई आवश्यक काजगपत्र बनाई दिने, रेखदेख गर्ने, खान लगाउन दिनेलगायतका कुरा गर्ने भनेका थिए ।

प्रहरी वृत्तबाट निस्किएपछि जिवनले श्रीमती रितुलाई १ हजार रुपैयाँ दिएर कोठामा जाऊ भन्दै आफुकेही बेरमा आउने बताएको समेत रितुले प्रहरीलाई जानकारी दिएकी छिन् । तर मंगलबार बिहान घटनाले यो मोड लिएको प्रहरीको प्रारम्भिक भनाई छ ।