धान बेच्दा तौलमा ठगिए मोरङका किसान


सरोज यादव, विराटनगर ।
मोरङका किसानहरुले धान बेच्ने क्रममा तौल र मुल्यमा ठगिनुपरेको गुनासो गरेका छन । धान बेच्ने क्रममा बिचौलियाले आफुहरुलाई अल्मल्याएर भएको परिमाण भन्दा कम तौल देखाएर ठग्ने गरेको उनिहरुले गुनासो गरेका छन । रंगेली नगरपालिकाका किसानहरुको एक समूहले सोमबार विराटनगरस्थित नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलनको आयोजना गरेर आफुहरु ठगिएको खुलासा गरेका छन ।

रंगेली नगरपालिका ५ आमगाछीका किसान सुरेन्द्रकुमार मण्डलले किसानहरुबाट स्थानियस्तरमा धान खरीद गर्ने कांटावालाहरुले विभिन्न बहानामा अल्मल्याएर किसानहरुलाई ठग्ने गरेको दाबी गर्नुभयो । उहाँले बेच्न ल्याइएका धान, कांटावालाहरुले तत्काल तौल नगर्ने र पछि मिलमा तौल गरिएको भनेर कम तौल देखाएर ठग्ने गरेको दाबी गर्नुभयो ।

उहाँले आफुले २ बिघा १४ कट्ठामा फलाएको १३ हजार ५ सय ५५ केजी धान आफैले तौल गरेर स्थानीय कांटावाल नन्द लाल मण्डलकोमा पठाउदा उनले तत्काल तौल गर्न नमानेको र मिलमै गरिएको तौल अनुसार पैसा दिने भन्दै ठगि गरेको गुनासो गर्नुभयो । उहाँले मिलमा तौल गरिएको भन्दै आफुले दिएको धान भन्दा ९ सय केजी कम देखाएर रकम भुक्तानी लिन बाध्य पारिएको दाबी गर्नुभयो ।

आफुले १५ रुपैया ७५ पैसा प्रतिकिलोले धान बेचेको हुंदा ९ सय किलोको कम भुक्तानी दिंदा आफुले मात्र झण्डै १५ हजारको घाटा बेहोर्नु परेको उहाँले गुनासो गर्नुभयो । आफुजस्तै सो क्षेत्रका अन्य कयौं किसान ठगिएको उहाँको भनाई थियो । रंगेली ५ कै किसान नवीनकुमार मण्डलले धान खरीदको सौदा गर्ने क्रममा समेत कांटावालहरुले किसानहरुलाई झुक्याउने गरेको बताउनुभयो ।

धानको मुल्य बढेको बेला कांटावालहरुले सौदा गर्ने गरेपनि बिभिन्न बहाना बनाएर कबोल गरिएको भन्दा कम मुल्य दिने गरेको जानकारी दिनुभयो । रंगेली नगरपालिकाका भित्री क्षेत्रहरुमा खोलिएका धान संकलक कांटा पसलेहरुले बर्षौदेखि ठगी गर्दै आएपनि कार्वाही हुन नसकेको किसानहरुको भनाई थियो । उनीहरुले सम्बन्धित निकायले स्थालगत अनुगमन गरेर किसान ठग्ने ब्यापारीलाई कार्वाही गर्नुपर्ने माग समेत गरेका छन ।