मेची पारिको गाउँको गुनासो


उत्तम नेपाल, भद्रपुर । नेपालमै रहेको नेपाली भूमि राज्यको प्राथमिकतामा नपर्दा बिरानो बन्नु पर्ने बाध्यता आउदो रहेछ । वर्षामा समुन्द्रको टापु जस्तै पानीले घरिएर रहने मेचीपारिको गाउँका बासिन्दा नेपालको प्रशासनिक क्षेत्र भन्दा भारतको प्रशासनसित नजिक ठानेर वर्षाभर जीवन गुजारा गर्नु पर्ने बाध्यताले स्वदेश प्रति बिरानो हुनु परेको हो ।

झापा भद्रपुर ३ मा रहेको भाङबारी स्थित नेपाली भूमि मेचीपारिको गाउँका बासिन्दालाई वर्षाको ३ महिना नेपाली भूगोल भन्दा परदेशी भूमि भारत नै आफ्नो जस्तो महसुस हुन्छ । यो गाउँ बर्षाको मौसम असार, साउन र भदौ महिनामा टापुमा परिणत हुने हुँदा बाच्नका लागि स्थानीयले नेपालीमनलाई भारतीय परनिर्भरतामा सुम्पनु पर्ने बाध्यताले परदेशी भूमि आफ्नो जस्तो महसुस हुने गरेको छ । दुई सय ५० घरपरिवार रहेको यस नेपाली भूमिका स्थानीय असारदेखि भदौसम्म हरेक वर्ष त्रासमा रहने गरेका छन् । मेची नदी वर्षाले उर्लिन थालेपछि नेपालतिर गाउँबासीको सम्पर्क टुट्ने गर्दछ ।

यस गाउँलाई भद्रपुर शहरसित जोड्न भनेर पाँच वर्षअघि बनाउन थालेको झोलुंगे पुल अलपत्र छ । तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पुलका लागि बजेट विनियोजन गरी ठेक्का लगाएको थियो । भ्याटसहित २ करोड ८५ लाख ९८ हजार २ सय ५९ रुपैयाँमा निल गिरी निर्माण सेवा प्रा.लि. बानेश्वर काठमाडांैले २०७२ भदौ ७ गते ठेक्का सम्झौता गरी कामको जिम्मा लिएको थियो । २ सय ८० मिटर लम्बाई र १३ मिटर चौढाईसहितको झोलुङ्गे पुलको निर्माण कार्य १८ महिना अर्थात् २०७३ फागुन ६ गते सम्पन्न हुने गरी निर्माण व्यवसायी युवराज डाँगीले ठेक्का लिएका थिए ।

२०७६ साउनसम्म आइपुग्दा ७० प्रतिशत बजेट लगिसकेको कम्पनीको काम भने ५० प्रतिशत हाराहारीमा अल्मलिरहेको छ । निर्वाचनका बेला स्थानीय तहदेखि, प्रदेश र संघसम्मका उम्मेद्वारले यही पुललाई निर्वाचनको नारा बनाएर गाउँलेबाट जनमत बटुले तर, समयमै पुल निर्माण सम्पन्न गरेर सहज जीवनशैली बनाइदिने आश्वासन दिने जनप्रतिनिधिको निर्वाचन सम्पन्न भएर सरकार गठन भइ काम थालेको पनि दुई आर्थिक वर्ष सम्पन्न भइ सक्दा झोलुंगे पुलको प्रगति बुझ्न सरकारका प्रतिनिधि आइ पुगेका छैनन् । नदीमा पानीको बहाव बढेसँगै स्थानीयवासी त्रसित बनेर बाँच्नु बाहेक बिकल्प छैन । भारतले आफ्नो क्षेत्रतिर यही वर्ष पक्की तटबन्ध बनाएपछि बस्ती पूर्वपट्टि बग्ने मेची नदीले पनि नेपालतिरै कटान थालेको छ । यसले टापुका बासिन्दालाई अर्को संकट थपेको छ ।

कसैलाई नेपाली मनले चसक्क बिजे नदी किनारमा गएर नेपालतिर फर्किएर हेर्नुबाहेक अरू विकल्प छैन । हु न त नदी तर्न नगर सरकार कर्मचारीको नेतृत्वमा रहेकै बेला डुंगाको व्यवस्था गरिएको छ । ४ वर्षयता भद्रपुर नगर सरकारले त्यहाका जनतालाई दिएको सुविधा भनेकै त्यही हो । डुंगा निर्माण गरी नगर सरकारले चालकलाई प्रति महिना १७ हजार तलब समेत उपलब्ध गराएको छ । तर पहाडी मुहान भएको मेची नदी उर्लिएपछि डुंगा चल्न सक्दैन ।

विगतमा दुई जना चालकले डुंगा चलाउँदा नदी तर्ने व्यक्ति आफू सुरक्षित महसुस गरी यात्रा गर्न डराउँदैन थिए तर एउटा चालकलाई मात्र तलबको व्यवस्था भएपछि ४ वर्षयता त्रासका कारण स्थानीय कमै मात्र डुंगामा सवार हुने गरेका छन् । ‘कुन दिन हाम्रा बाबुबाजे यो टापुमा आएर बसे ?’ स्थानीयको पीडा हो यो, ‘त्यसको सजाय हामीले भोगिरहेका छौं ।” बिरामी भए उपचार गर्न जाने बाटो छैन । यही पीरले वर्षाका ३ महिनाभरी स्थानीय पिरोलिएर बाँच्नु पर्छ । स्थानीयका अनुसार यस वर्षादमा आधा गाउँमा नदी पसेको छ ।

ठेकेदारले वर्षमा २–४ दिन आएर २–३ जनाले काम गरेजस्तो गराउछ । अनि वार्षिक विनियोजित रकम लिएर हिउँदमा हराउने गरेको स्थानीय बताउँछन् । हरेक गतिविधिले सरकारले नेपाली नै नठानेको स्थानीयको गुनासो छ । यस गाउँका बासिन्दा हिउँदमा हिँडेर या साइकलमा सदरमुकाम जाने–आउने गर्छन् । आफ्ना बारीमा उत्पादन गरेका साग सब्जी बेचेर होस् या जनमन गरेर हिउँदभर नेपालतिरै परनिर्भर रहने यहाँका बासिन्दाको वर्षाभरी चुलो बाल्न समेत समस्या हुने गरेको छ ।

वि सं २०४० सालदेखि सोही गाउँमा रहेको मेची आधारभूत विद्यालयमा कार्यरत शिक्षक कैलास राई ले भद्रपुर नगरको कर्णालीको पहिचान पाएको मेचीपारी गाउँका बासिन्दा राज्यले पूरा गर्नु पर्ने आधारभूत आवश्यकताबाटै बञ्चित भएको बताउँनुभयो । झापाको सदरमुकाममै रहेका यी बासिन्दाले त यस हालतमा बाच्नु पर्ने बिडम्बना छ भने दुर दराजमा के होला ? यस गाउँको मुहारले समृद्ध नेपाल सुखी नेपाली नारालाई गिज्याइरहेको उहाँ बताउनु हुन्छ ।