काभ्रेबाट वर्षेनी ४५ सय वैदेशिक रोजगारमा 


मोतीराम तिमल्सिना, काभ्रे । सुरक्षित आप्रवासन (सामी) परियोजना कार्यान्वयनका लागि धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, रोशी गाउँपालिका, भुम्लु गाउँपालिका र परियोजना सहयोग ईकाइ सामी हेल्भेटास बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

आर्थिक वर्ष २०७५/२०७६ को कार्तिक मसान्तसम्म नेपालबाट बैद्यानिक रुपमा श्रम स्विकृति लिएर विदेशिने नेपालीहरुको संख्या ५१ लाख ९९ हजार ४४ रहेको छ । जस मध्ये ४ प्रतिशत महिला छन् । श्रम स्विकृति नलिने ब्यक्तिहरुको संख्या पनि त्यतिकै रहेको तथ्याङ्कले देखाउँछ । काभ्रे जिल्लाबाट मात्रै बार्षिक ४५ सय ब्यक्तिहरु विदेशिने गरेका छन् । जसमध्ये ९ सय ६७ महिला छन् । ३४ सय ९९ जना पुरुष छन् । जिल्लाबाट बैदशिक रोजगारका लागि जान चाहने ब्यक्तिहरुका लागि उक्त केन्द्रले सूचना, न्याय र सिप प्रदान गर्नेछ भने चारवटा स्थानीय तहका नागरिकलाई त्यसका अलावा मनोसामाजिक परामर्श र वित्तिय साक्षरता समेत प्रदान गर्नेछ ।

त्यसका लागि चारवटै तहको केन्द्रका रुपमा धुलिखेल नगरपालिकामा कार्यलय स्थापना गरिएको छ ।स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३, दफा ११, उप दफा २ (थ) तथा परिच्छेद ६ को दफा २६ (ढ) बमोजि स्थानीय तहहरु बीच एकआपसमा सहयोग, सहकार्य अभिवृद्धि गर्ने उदेश्यले उक्त समझदारी गरिएको हो । देशका ३९ वटा जिल्लामा उक्त कार्यक्रम शुरु गरिएको छ ।

वैदेशिक रोजगारी जस्तो बहुआयामिक विषय तथा यसका समस्याहरुलाई संयुक्त रुपमा सम्बोधन गर्नेे उद्धेश्यले यो समझदारी गरिएको छ । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमुलक एवं शोषणरहित बनाउने उद्घेश्य सहित नेपाल सरकार र स्वीटजरल्याण्ड सरकार बीच भएको द्विपक्षीय सम्झौता अनुसार सुरक्षित आप्रवासन (सामी) परियोजना तेस्रो चरणको २०७५ भाद्र ३१ देखि २०७९ असार ३१ सम्म संचालन हुनेछ । परियोजना अन्तर्गतका कार्यक्रमहरु श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत नेतृत्वमा स्थानीय सरकारले कार्यान्वयन गर्नेछन् ।

कार्यक्रम सञ्चालनका लागि आवश्यक प्राविधिक सहयोग हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालले उपलब्ध गराउनेछ । समझदारी पत्रको अवधि २०७६ श्रावण १ गते देखि २०७९ असार ३१ सम्म कायम रहनेछ । नेपाल सरकार र स्वीस सरकार बीच भएको सम्झौताको प्रतिकूल नहुने गरी सबै हस्ताक्षरपक्षहरु सँगको आपसी छलफल र परामर्श गरी आवश्यकता अनुसार यो समझदारी पत्रलाई संशोधन गर्न सकिने उल्लेख गरिएको छ । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमले ब्यवस्थापन समितिको अध्यक्षमा धुलिखेल नगरपालिकाका नगर प्रमुख ब्याञ्जुलाई नै तोक्ने निर्णय गरेको छ ।

समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले सकेसम्म नेपालीहरु विदेश जानु नपर्ने वातावरण बनाउनु पर्ने बताउँदै विदेश जानै परे दक्ष बनेर जानु पर्ने बताउनु भयो । मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवाले कार्यक्रम कार्यान्वयनमा ध्यान दिनु पर्ने बताउनु भयो । जटिलता धेरै भएकाले त्यसलाई फुकाउन तत्परता देखाउनु पर्नेमा नगर प्रमुख वाईवाको जोड थियो । नेपालमा दैनिक १ हजार भन्दा धेरै नेपालीहरु विदेशिने गरेका छन् । जसमध्ये ७५ प्रतिशत अदक्ष कामदार छन् । दैनिक ३ जना नेपालीको शव नेपाल भित्रने गरेको तथ्याङ्क छ ।

परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको परियोजना कार्यान्वयन निर्देशिका अनुुसार परियोजनाका कार्यक्रमहरु सञ्चालन हुनेछन् । कार्यक्रम लागु भएका स्थानीय तहहरुले एउटै सेवा प्रदायक संस्था छनौट गरी सोहि संस्था मार्फत उक्त कार्यक्रम कार्यान्वयन गराईनेछ । निर्देशिका बमोजिम स्थानीय सरकार परियोजना ब्यवस्थापन समिति गठन गरिएको छ ।