तामाकोसी तेस्रो जलविद्युत आयोजनाको क्षमता घटाईएको भन्दै स्थानीय स्तरमा विरोध


चिरञ्जीवी मास्के, दोलखा ।
दोलखामा प्रस्तावित ६५० मेगावाटको तामाकोसी तेस्रो जलविद्युत आयोजना निर्माणको लागि उर्जा मन्त्रालयले टिबीआइ होल्डिङसंग क्षमता घटाएर २ सय मेगावाटमा गोप्य रुपमा सम्झौता गरेको भन्दै स्थानिय स्तरमा ब्यापक विरोध भएको छ ।

गत साउन ८ गते ऊर्जामन्त्री बर्षमान पुनकै उपस्थितिमा ६५० मेगावाट क्षमताको तामाकोसी तेस्रो जलविद्युत आयोजनाको क्षमता ४५० मेगावाट घटाएर २ सय मेगावाटमा टिबीआइ होल्डिङसंग सम्झौता गरेको समाचार चिनको सिन्हवा समाचारमा आएपछि नेपाली मिडियाले जानकारी पाएका थिए । उक्त समाचार नेपाली मिडियामा आएपछि स्थानिय स्तरमा दोलखाको राजनीतिक दल, नागरिक समाज, उद्योग व्यवसायी र सरोकार समितिले तिब्र विरोध गरेका छन् । उनीहरुले आयोजना निर्माणमा सहयोग गर्ने तर कुनै पनि हालतमा आयोजनाको क्षमता घटाउन नदिने बताएका छन् ।

जलविद्युत निर्माणमा अन्र्तराष्ट्रियस्तरमा नै ख्याती प्राप्त कम्पनी नर्वेको स्टाटक्राफ्टलले परामर्शदाता कम्पनी स्वको नोर्गे एएस नर्वेको सहयोगमा लामो समयको अध्ययनपछि अधिकतम १३२० मेगावाट उत्पादन गर्न सकिने भन्दै ८८० मेगावाटहुँदै ६५० मेगावाट क्षमतामा अर्धजलाशययुक्त आयोजना निर्माण गर्ने गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो ।

यस्तो आयोजनालाई सरकारले अगाडी बढाउँनुको सट्टा २ वर्ष यता क्षमता घटाउँदै सर्वेक्षणको नाममा टिबीआइ होल्डिङ कम्पनिलाई दिएर ठाँउ ओगट्ने वातावरण बनाई दिएको स्थानियको आरोप छ । टिबीआइ होल्डिङले काठमाडौंमै बसेर चीनको वाईआईजी इन्टरनेसनल र सांघाइ इन्भेस्टमेन्ट, डिजाइन एन्ड रिसर्च इन्स्टीच्युट कर्पोरेसनसँग ‘जोइन्ट भेन्चर डेभलपमेन्ट फ्रेमवर्क’मा २ सय मेगावाट क्षमतामा आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने सम्झौता गरेको थियो ।

तामाकोसी तेस्रो जलविद्युत आयोजना सरोकार समितिका संयोजक शिवप्रसाद भण्डारी यस्तो राष्ट्रिय महत्वको आयोजनामा विदेशी लगानिकर्ताले चासो देखाउनु राम्रो भएपनि आयोजनाको क्षमता घटाएर डीपिआरको सम्झौता हुनु खेदजनक भएको बताउनु हुन्छ । साविक क्षमतामा आयोजना निर्माण भए स्थानिय स्तरबाट पूर्ण रुपमा सहयोग हुने तर क्षमता घटाएर डीपिआर गर्न खोजिए प्रतिरोध गरिने सरोकार समितिका संयोजक भण्डारीले बताउनु भयो । सरोकार समितिले क्षमता अनुसारकै डीपिआर तयार गर्न प्रधानमन्त्री, उर्जा मन्त्री लगायत सबैसंग अनुरोध गर्ने र जर्वजस्ति गरिए त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धित पक्षनै हुने भण्डारीको चेतावनी छ ।

नेपाली कांग्रेस दोलखाका सचिव सन्तोष रिमालले पनि आयोजनाको क्षमता घटाएर सम्झौता हुनु खेदजनक रहेको उल्लेख गर्दै ठुलो कमिसन लिएर चिनिया कम्पनिलाई आयोजना बेचेको नेपाली कांग्रेस दोलखाको ठहर रहेको बताउनु भयो । सचिव रिमालले आयोजनाको क्षमता घटाएर कुनै पनि हालतमा निर्माण गर्न नदिने र जोड जर्वजस्ति गरिए आन्दोलन गर्ने बताउनु भयो । दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष इन्द्र श्रेष्ठले पनि आयोजनाको क्षमता घटाएर आयोजना निर्माण गर्ने या डीपिआर गर्ने कुराको संघले विरोध गर्ने बताउनु भयो ।