अपडेटः नेपाली कांग्रेसका सचिव श्रेष्ठको मृत्यु ‘शंकास्पद’

श्रेष्ठले आत्महत्या गरेको प्रहरीको भनाई


न्युज अफ नेपाल, पर्वत ।
बालुवाटारको चर्चित ललितानिवास जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेस पर्वतका सचिव तथा लायन्स क्लब डिस्ट्रीक्ट ३२५ बि १ का पूर्व गर्भनर युक्तप्रसाद श्रेष्ठको मृत्यु ‘शंकास्पद’ भेटिएको छ ।

पर्वतको फलेबास नगरपालिका वडा नं ६ देबिस्थान घर भएका श्रेष्ठको काठमाण्डौको बालाजु स्थित हिमालय सिटीसेन्टरको सातौं तलाबाट खसेर मृत्यु भएको बताइएपनि प्रहरीको अनुसन्धानले भने उनले ‘आत्महत्या’ गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रहरीका अनुसार सातौँ तलाबाट खसेका श्रेष्ठको उपचारका क्रममा पिपल्स अस्पतालमा पु¥याउँदा मृत घोषित गरेको थियो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले श्रेष्ठ मृत भेटिएको पुष्टि गरे । ‘सपिङ सेन्टरको रेलिङमा चढेर हाम फालेको अवस्थामा भेटिएपछि प्रहरीलाई खबर भएको थियो’, बोगटीले भने ‘त्यहाँबाट उपचारका लागि पिपुल्स हस्पिटलमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । उनले सातौ तलाबाट हामफालेको बताइएपछि जग्गा प्रकरणमा जोडिएका कारण अनेक उपशंका उब्जिएको र बिस्तृत अनुसन्धानपछि मात्रै कुरा खुल्ने प्रहरीको भनाई छ ।

पर्वतको फलेवास नगरपालिका–६ देवीस्थान घर भएका श्रेष्ठ नेपाली कांग्रेस पर्वतका मनोनित सचिव थिए। उनको परिवार काठमाडौंमै बस्दै आएको छ। बालुवाटारको सरकारी जग्गा ललिता निवास ब्यक्तिका नाममा पु¥याउनका लागि मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत रहँदा फाइल खडा गर्ने लगायतका काममा श्रेष्ठको संलग्नता भेटिएको थियो । सरकारी जग्गा हिनामिना गरेको अभियोगमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन खरदार समेत रहेका श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइरहेको थियो ।