श्रीकृष्णमा सिभिल इन्जिनियरिङको पढाई हुने


भक्तपुर ।
चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित श्रीकृष्ण बहुमुखी क्याम्पसमा तीन बर्षे सिभिल इन्जिनियरिङ्गको पढाई हुने भएको छ । सीटीईभीटीबाट मान्यता प्राप्त गरि यसै शैक्षिक सत्रबाटै डिप्लोमा इन सिभिल इन्जिनियरिङ्गको सेमेष्टर प्रणालीको कक्षा सञ्चालन गर्नका लागि आवेदन खुला गरिएको बिद्यालयका प्राचार्य इन्द्र प्रसाद कायस्थले जानकारी दिनुभयो ।

यसै बर्षबाट सीटीईभीटीइबाट स्विकृति प्राप्त गरेको कलेजले इन्जिनियरिङ्गको कक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी, दक्ष जनशक्ति र पूर्वाधार तयार गरिसकेको श्रीकृष्ण मावि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन खत्रीले बताउनुभयो । उहाँले ४० सिटका लागि सम्बन्धन प्राप्त गरेको उल्लेख गर्दै तीन बर्षे इन्जिनियरिङ्ग कोर्ष पुरा गर्न २ लाख ५० हजार रुपैयाँ शुल्क लाग्ने बताउनुभयो ।

यसैबीच श्रीकृष्ण माबि तथा क्याम्पसले बिद्यालय हाताभित्र बिक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । बिद्यालयले एवाकार्डो, नासपाती, अम्बा, जुनार, अनार, सुन्तला, कागतीलगायतका ३ सय ५० बिरुवा रोपेको जनाएको छ । चाँगुनारायण नगरपालिकाको सहयोगमा रोपिएका बिरुवाबाट उत्पादित फलफुल बिद्यालयका बिद्यार्थीहरुलाई खाजाको रुपमा खुवाउने योजना रहेको प्राचार्य कायस्थले जनाउनुभयो । बिक्षारोपण कार्यक्रममा नगर प्रमुख सोम प्रसाद मिश्रले एक घर दुई बिरुवाको अभियानसँगै बिद्यालयमा फलफुलका बिरुवा लगाउने अभियान सञ्चालन गरिएको बताउनुभयो ।