दाङमा चोरिएको चाँदी हेटौंडामा, एक पक्राउ


हेटौंडा । साउन ५ गते दाङको घोराही–१६ बस्ने प्रकाश विश्वकर्माको वडा नम्बर–१५ स्थित रहेको सुनचाँदी पसलमा चोरी भयो । चोरी गर्ने व्यक्ति मकवानपुरको हुनसक्ने आशंकामा उनको खोजतलास गर्न जिल्ला प्रहरी कार्यालय दाङबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्र प्राप्त भयो ।

जिप्रका मकवानपुरबाट खटिएको प्रहरीले चोरको खोजतलास थाल्यो । सोही क्रममा साउन ११ गते हेटौंडा–१०, बसपार्कस्थित सडकखण्डमा हेटौंडा–१८ बस्ने रमेश कालीराजउपर प्रहीलाई शंका लाग्यो ।

शंका लागि उनको खानतलासी गर्दा उनले हातमा झुण्ड्याएको झोलाभित्र उक्त पसलबाट चोरिएका चाँदीको पञ्चरत्न बाला, ब्रासलेट, औंठी, बाला र धातु तथा चाँदीका टुक्रालगायत ३ किलो ९ सय ५० ग्राम र नगद १० हजार बरामद भयो ।

उनलाई प्रारम्भिक अनुसन्धानपश्चात् आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दाङतर्फ पठाइएको मकवानपुर प्रहीले जनाएको छ ।