नेकपाले सबै पालिकामा एकता टुङ्ग्यायो 


धनवीर दाहाल,रुकुम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिमले सबै स्थानीय तहहरुमा एकता टुङ्गीएको बताएको छ ।

नेकपा रुकुम पश्चिमले एक अभियान सञ्चालन गरी सबै पालिकामा एकीकरणका नयाँ कमिटी निर्माण, पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण र पालिका स्तरीय कमिटीको पहिलो बैठक समेत एकैसाथ सम्पन्न गरेको हो ।

६ वटा स्थानीय तह रहेको रुकुम पश्चिममा चारवटा पूर्व माओवादी केन्द्र र दुईवटाको नेतृत्व पूर्व एमालेले लिएर एकीकरण प्रक्रिया टुंग्याइएको छ । जसअनुसार मुसिकोट र चौरजहारी नगरपालिका तथा बाँफिकोट र सानीभेरी गाउँपालिकाको नेतृत्व पूर्व माओवादीको भागमा परेको छ भने आठविसकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाको नेतृत्व पूर्व एमालेले पाएको छ ।

यसरी विभाजन गरिएको पदीय जिम्मेवारीमा मुसिकोट नगरकमिटीको अध्यक्षमा जयबहादुर पाण्डे र सचिव दीपकराज खड्का, आठविसकोट नगरकमिटीको अध्यक्षमा हरिप्रसाद शर्मा र सचिव चन्द्रबहादुर बुढा तथा चौरजहारी नगरकमिटीको अध्यक्षमा श्रीकृष्ण शर्मा र सचिवमा वीरबहादुर रानालाई चयन गरिएको नेकपा रुकुम पश्चिमका सचिव बिमलकुमार पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँफिकोट गाउँकमिटीमा कबिराम खत्री अध्यक्ष र वेगम देवकोटा सचिव, त्रिवेणी गाउँपालिकामा गणेशबहादुर खड्का अध्यक्ष र सुन्दर ओली सचिव तथा सानीभेरी गाउँपालिकामा टेकबहादुर पुन अध्यक्ष र मनवीर घर्ती सचिवमा चयन हुनुभएको छ ।

८१ सदस्यीय नगरकमिटीमा पूर्वमाओवादीबाट ५३ जना र पूर्व एमालेबाट २८ जना तथा ७५ सदस्यीय गाउँकमिटीमा पूर्वमाओवादीबाट ४९ जना र पूर्व एमालेबाट २६ जना सदस्यको प्रतिनिधित्व भएको छ ।

त्यसैगरी १४ वडा रहेका तीनवटै नगरपालिकामा ९ वडा पूर्व माओवादी र ५ वडा पूर्व एमालेले लिनेगरी सहमति भएको छ भने १० वडा रहेका बाँफिकोट र त्रिवेणी गाउँपालिकामा पूर्वमाओवादीले ६ र पूर्वएमालेले ४ वडा लिने बताइएको छ । ११ वडा रहेको सानीभेरी गाउँपालिकामा भने ७ वडा पूर्वमाओवादी र ४ वडा पूर्वएमालेले नेतृत्व गर्नेगरी सहमति भएको छ ।

यसै भागवण्डाका आधारमा सबै पालिकाहरुले वडा र त्यसको नेतृत्व टुंग्याउने गरी काम गरिरहेका छन् । साउन मसान्तभित्र सबै वडा, टोल र सेल कमिटीहरु निर्माण गर्नेगरी काम भैरहेको नेकपा रुकुम पश्चिमका सचिव बिमलकुमार पुनले जानकारी दिनुभयो ।

जिल्ला र पालिका स्तरमा जस्तै वडा, टोल र सेल कमिटीहरुमा पनि अध्यक्ष र सचिव फरक पृष्ठभूमिबाट आएकालाई दिइने उहाँले बताउनुभयो ।