मोरङ प्रहरीमाथि पीडितको प्रश्न, किटानी जाहेरी दिँदा पनि किन प्रक्राउ गरेन ?


सरोज यादव, विराटनगर । कुटपिटका कारण मृत्यु भएको दाबी गरिएका विराटनगर १४ का मृतक सेमानन्द यादवका परिवारले प्रहरीले घटनाका आरोपित ब्यक्तिहरु पक्राउ गर्न चासो नदिएको आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासंघ मोरङ शाखामा शनिबार पत्रकार सम्मेलनगरि मृतक पक्षले घटना भएको यत्तिका दिन बित्तिसक्दा समेत प्रहरीले पक्राउ गर्न चासो नदिएको दाबी गरेका छन । पत्रकार सम्मेलनमा मृतकका आफ्न्त धिरेन्द्र यादवले घटना भएलगत्तै ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिंदा समेत प्रहरीले अभियुक्तहरुलाई पक्राउ गर्न चासो नदिएको आरोप लगाउदै पीडितको मृत्य भइसक्दा समेत उनीहरुलाई पक्राउ नगरिएको गुनासो गर्नुभयो । मृतकका छोरा मुकेश यादवले घटना भएको जेठ ३२ गते आफु समेत विराटनगर १४ का वडाध्यक्ष बलदेव यादवको घरमा बाबुसंगै उपस्थित रहेको जानकारी दिनुभयो । छलफल हुने क्रममा आफ्ना बाबुले दाई राजेशले विवाह गर्न नमानेको जानकारी गराएपछि आक्रोशित बलदेव यादव सहितको समूहले कोठामा लगेर निर्घात कुटपीट गरेको दाबी गर्नुभयो ।

कुटपिट पछि बेहोस भएका बाबुलाई उनिहरुले नै घर सामुन्नेको नाला छेउमा लगेर छाडिदिएको मुकेशको भनाई छ । मृतककी श्रीमती कन्दुलादेवी यादवले घरमा बसिरहेका श्रीमानलाई छलफल गर्ने भन्दै घरबाटै लगेर कुटपिट गरिएको बताउदै अहिले पीडक पक्षले मिल्न भनेर दबाब दिइरहेको जानकारी गराउनुभयो । नमिल्ने बताएपछि अहिले आफ्ना छोराहरुलाई धम्की आइरहेको समेत उहाँको भनाई थियो । सो घटनामा पीडित पक्षले विराटनगर १४ का वडाध्यक्ष बलदेव यादवसहितका ९ जना ब्यक्तिहरु बिरुद्ध कर्तब्य ज्यान उद्योगमा मुदा दर्ता गराएको छ । छोरोले विवाह गर्न नमानेपछि वडाध्यक्ष बलदेव यादवको घरमा भएको पंचयतीको क्रममा सेमानन्दलाई कुटपिट गरिएको पीडित पक्षको आरोप छ ।

कुटपिटबाट उनको सर्भाइकल स्पाइनमा गम्भीर चोट लागेका कारण असार २६ गते उनको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पीडित परिवारले जनाएको छ । यता जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले भने अभियुक्त पक्राउ गर्न कुनै हेलचक्र्याई नगरिएको दाबी गर्नुभयो । अभियुक्तहरु सिमापार फरार भएकाले पक्राउ गर्न समस्या भएको उहाँको भनाई छ ।

ज्यान मुद्दा लागेका वडाध्यक्षहरु स्वतः निलम्बित

कर्तब्य ज्यान मुद्दा लागेका ३ वडाध्यक्षहरु स्वतः निलम्बनमा परेका छन् । विराटनगर महानगरपािलका वडा नं १४ का समानन्द यादवको हत्या आरोप लागेका विराटनगर महानगरपालिकाका २ र जहदा गाउँपालिका १ वडाध्यक्ष स्वतस् निलम्बनमा परेका हुन् ।

निलम्बनमा पर्नेहरुमा विराटनगर–१४ का वडाध्यक्ष बलदेव यादव, १८ का सञ्जय साह र जहदा गाउँपालिका–१ वडाध्यक्षका प्रदिप यादव छन् । छोराले बिहे नगरेको भन्दै पञ्चायत बोलाएको बेला वडाध्यक्षहरुको रोहवरमा भएको छलफलका क्रममा भएको कुटपिटपछि उपचारको क्रममा यादवको मृत्यु भएको थियो । यादवको मृत्यु भएपछि ३ वडाध्यक्षहरु फरार छन् । कुटपिटबाट गम्भीर घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएपछि ३ वटै वडाध्यक्षसहित घटनामा संलग्न ९ जनालाई मोरङ प्रहरीले कर्तब्य ज्यान मुद्दा दर्ता गरेको छ ।

सार्वजनिक पद धारण गरेका व्यक्तिलाई फौजदारी अभियोग लागे स्वतः निलम्बन हुने कानुनी प्रावधान रहेको विराटनगर महानगरपालिका कानुनी सल्लाहकार प्रमेश्वर नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर किसिमको फौजदारी मुद्दा लागेकाले वडाध्यक्षहरु स्वतः निलम्बन भएका हुन् । अदालतले निर्दोष सावित गरेर पुनः बहाली हुने कानुनी प्रावधान रहेको उहाँले बताउनु भयो ।

फरार रहेका बेला पदीय काम गर्न नमिल्ने र काम गरेको पाइयो भने फरार भन्न नमिले कानुनी ब्याख्या रहेको बताउँदै उहाँले भन्नुभयो– ‘पूर्पक्षका लागि थुनामा गए पनि स्वतः निलम्बन हुने प्रावधान छ ।’ विराटनगर–१४ का वडाध्यक्ष बलदेव यादवको घरमा भएको भेलाकोे आदेशमा स्थानीयबासीले समानन्दलाई कुटपिट गरेका थिए । तीनैजना वडाध्यक्ष संघीय समाजवादी पार्टीका हुन् । सो पार्टीले उनीहरुलाई राजनीतिक पूर्वाग्रहले फसाउन खोजेको आरोप लगाएको छ ।