दुरुपयोग जोगाउन सडक मर्मत कोष


बलेवा । बागलुङको जैमिनी नगरपालिकाको सबै वडामा बाह्रैमहीना सवारीसाधन चल्ने गरी सडक मर्मत कोष स्थापना गरिएको छ । अघिल्ला वर्ष विनियोजन भएको बजेट सडक मर्मत नगरी दुरुपयोग भएपछि नगरपालिकाले सदुपयोगका लागि कोष बनाएको हो ।

अघिल्ला दुई वर्ष वडामा गएको बजेट र नगरको विकास बजेटको ३० प्रतिशत सही तरिकाले प्रयोग नभएकाले कार्यविधि बनाएर खर्च गर्नेगरी कोष स्थापना गरिएको नगरप्रमुख ईन्द्रराज पौडेलले बताउउनुभयो । पौडेलले भन्नुभयो, “कम्तीमा ९० प्रतिशत बजेट सदुपयोग गर्न कोष बनाउनु परेको हो ।” चालु वर्षदेखि हरेक वडामा कम्तीमा रु पाँच लाखको दरले रकम विनियोजन गरेर नियमित मर्मत कोष बनाइएको उहाँले बताउनुभयो ।

कोषको रकम हिउँद, वर्षा जुनसुकै समयमा सडक बिग्रिएको अवस्थामा मर्मतका लागि खर्च हुनेछ । नगरपालिकाले बनाएको कार्यविधिका आधारमा आवश्यक ठहरिएको सडक वडाको सिफारिसमा नगरपालिकालेनै कामका लागि खर्च गर्नेछ । गत वर्ष सिधैँ वडामा पठाइएको मर्मत सम्भारवापतको रु ५० लाख अनावश्यक ठाउँमासमेत सडकमा खर्च भएपछि आर्थिक अनुशासन कायम राख्न कोष बनाइएको प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताउनुभयो ।

जैमिनी नगरपालिकाले आफ्नो दुईवर्षे कार्यकालमा गरेका कामको समीक्षा सार्वजनिकीकरण समेत गरेको छ । शून्यबाट थालेर अधिकतम सफलता पाउने प्रयास भइरहे पनि सोचेको प्रगति हुन नसकेको नगर प्रमुख पौडेलले बताउनुभयो । उहाँले दीर्घकालीन र तत्काल योजना बनाएर काम गर्ने तथा दोहोरो पारदर्शीताको नीति अङ्गालेको पनि बताउनुभयो ।

नगरपालिकाले घर नभएका र सुकुम्वासीलाई घरमा बसाल्ने योजना पनि बनाएको उहाँले जानकारी दिनुभयो । “सुकुम्वासीमा सूचिकृत १७ परिवारलाई चालु वर्ष आफ्नै घरमा बसाल्ने योजना छ”, उहाँले भन्नुभयो, “घरै नभएका पनि ७९ घरको पहिचान गरिसकिएको छ, उनीहरुलाई तीन वर्षभित्र घरमा राख्ने योजना छ ।” गत वर्षबाट शुरु भएको यो कार्यक्रममा सुकुम्वासी परिवारमध्ये दुई परिवारले गत आर्थिक वर्षमानै घर पाइसकेका छन् ।

उनीहरुलाई घडेरी खरीदका लागि रु एक लाख र घर बनाउनका लागि थप रु दुई लाख गरी तीन लाख उपलब्ध गराइएको नगर उपप्रमुख लीला रानाले बताउनुभयो ।

नगरपालिकाले कृषि क्षेत्रको विकासमा पाँचथरी बालीलाई किसानबाट नगरपालिकाले खरीद गरेर बजारीकरण गरिदिने योजना पनि राखेको छ । त्यसका लागि कार्यविधि पनि बनाएर लागू गर्ने पौडेलले बताउनुभयो । अलैँची, सुन्तला, कागती, मह र कफीका लागि नगरपालिकाले बजारीकरण गरिदिने योजना बनाएको हो । रासस