९३ हजार म्याग्दीवासी सञ्चारको पहुँचमा


प्रताप बानियाँ,  म्याग्दी । हिमाली जिल्ला म्याग्दीका झण्डै ९३ हजार नागरिक सञ्चारको पहुँचमा पुगेका छन् । नेपाल टेलिकम दुरसञ्चार कार्यालय म्याग्दीको गत आर्थिक वर्षको तथ्याङ्क अनुसार जिल्लाको कुल ९३ हजार ८ सय ८७ जना म्याग्दीवासी सञ्चार सञ्जालसँग जोडिएका हुन् ।

२०६८ सालको जनगणनाअनुसार म्याग्दीको कुल जनसङ्ख्या एकलाख १३ हजार ६ सय ४१ रहेकोमा ८१ दशमलव ८ प्रतिशत नागरिक सञ्चारको पहुँचभित्र रहेको टेलिकम म्याग्दीले जनाएको छ । कार्यालयले दिएको जानकारीअनुसार जिल्लामा प्रिपेड मोबाइल सेवाका प्रयोगकर्ता सबैभन्दा धेरै ७२ हजार २ सय ९० जना रहेका छन् । यसैगरी स्काई फोनका १५ हजार ८ सय १५, पोस्टपेड मोबाइलका २ हजार १ सय २१, ल्याण्डलाइन टेलिफोनका ग्राहक १ हजार ४ सय ५२ र सिडिएमएका ५ सय १३ जना ग्राहकहरु रहेको कार्यालय प्रमुख विष्णुदेव शाहले बताए ।

ल्याण्डलाइन सेवातर्फ बेनी–गलेश्वर बजारमा मात्रै १ हजार २ सय ९६ जना ग्राहक रहेको टेलिकम म्याग्दीका प्रमुख शाहले जानकारी दिएका छन् । त्यस्तै दरबाङ बजारमा १ सय २२ र पर्यटकीय क्षेत्र घोरेपानीमा ३४ ग्राहकले ल्याण्डलाइन फोनको प्रयोग गर्दै आइरहेका छन् । एडिएसएलतर्फ अनलिमिटेड इन्टरनेट चलाउने बेनीबजार र गलेश्वरमा ५ सय १३, दरबाङमा १ सय ३ तथा घोरेपानीमा २८ गरी कुल ६ सय ४४ जना ग्राहकहरु रहेका छन् । भिस्याट/अप्टिकल लिजलाइनका ५२ ग्राहक छन् ।

म्याग्दी जिल्लाको विभिन्न ठाउँमा गरी कुल ३५ ओटा बिटिएस टावरहरु स्थापना गरी सञ्चालनमा ल्याइएको छ । मोबाइलका २६, सिडिएमए फोनका ५ र वाईम्याक्सको ४ ओटा टावरहरु सञ्चालन गरिएको टेलिकम म्याग्दीका प्रमुख शाहको भनाइ छ । जिल्ला सदरमुकाम बेनीस्थित टेलिकमको आफ्नै कार्यालय, बेनीबजार क्षेत्र, क्याम्पसचोक, बेनी नगरपालिकाको ५ पुलाडाँडा र ९ गलेश्वर, मंगलाको बराङ्जा, टोड्के, मालिकाको रुम र धौलागिरीको मुनामा टावर सञ्चालनमा रहेको छ ।

गतवर्ष बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित कोतमन्दिर, मंगला गाउँपालिकाको पर्यटकीयस्थल झाँक्रीपानी, अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर र धौलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिटिएस टावर स्थापना गरी सञ्चालनमा ल्याइएको छ । चालु वर्षमा मंगलाको पर्यटकीयस्थल टोड्केमा रहेको टावरलाई अपग्रेड गरी २० मिटर र धौलागिरीको मुनामा रहेको टावरलाई २५ मिटरको क्षमतामा रुपान्तरण गरिने टेलिकमसँग योजना छ । त्यसैगरी आगामी ६ महिनाभित्र बेनपाको गलेश्वरदेखि सिङ्गा तातोपानी बजारसम्म विस्तार गरिएको ल्याण्डलाइन फोनलाई कपरवाइडबाट हटाएर अप्टिकल फाइबरमा जडान गरी सेवा दिइने भएको छ ।

भौगोलिक विकटता रहेपनि जिल्लाको सबै जनसङ्ख्या कुनै न कुनै माध्यमबाट सञ्चारको पहुँचमा रहेको टेलिकमले दावी गरेको छ । जिल्लामा एनसेल मोबाइलका समेत अधिकांश प्रयोगकर्ताहरु रहेका छन्भने एउटै व्यक्तिले चार पाँचवटासम्म सिम चलाउने गरेको पाइएको छ । टेलिकमले पछिल्लो समय विभिन्न आकर्षक योजनाहरु ल्याएपछि इन्टरनेट चलाउने र मोबाइलका प्रयोगकर्ताहरु क्रमशः बढ्दै गएको तथ्याङ्क देखिन्छ ।