सैवुआवासमा मन्त्री निवास होइन खुला क्षेत्र हुनुपर्छ : स्थानीयवासी


न्युजअफ नेपाल, ललितपुर । सरकारले सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, मन्त्री र मुख्यमन्त्रीलाई भैसेपाटी स्थित सैवु आवास क्षेत्रमा सुविधा सम्पन्न अत्याधुनिक आवास गृह निर्माण गर्ने निर्णयको स्थानीवासीले विरोध जनाएका छन् । करिब सय रोपनी खुला क्षेत्रमा ३३ वटा भवन निर्माण गर्ने सरकारी निर्णयको स्थानीयवासीले विरोध जनाएका हुन । उनीहरुले सो क्षेत्रमा अन्तराष्ट्रिय स्तरको खुला पार्क निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराउने भएका छन् । हेलिप्याड र स्विमिङ पुल सहितको अवास निर्माण गर्दा स्थानीयलाई समस्या पर्ने भन्दै तत्काल सरकारी निर्णय फिर्ता लिन माग गरेका छन् ।

स्थानीयको भेलाले समन्वय समिति गठन गरी थप कार्यक्रम सार्वजनीक गर्ने जनाएका छन् । आज शनिबार आवसक्षेत्र नजिकै सैबु स्थित मगरगाउमा आयोजित भेलामा ललितपुर महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष पुरुषोत्तम खड्काले सो क्षेत्रमा मन्त्रीका लागि आवास भवन बनाउन नहुने बताउनुभयो । उहाले भन्नुभयो–हामी सो क्षेत्रलाई खुला पार्कको रुपमा विकास गछौ, मन्त्री निवास बनाउन दिदैनौ । उहाले सरकारलाई दवाव दिन सबै जनताहरु एकजुट हुनुपर्ने बताउनुभयो । स्थानीय सरकारलाई कुनैपनि जानकारी नदिइ सरकारले उकलौटी रुपमा आवास बनाउने निर्णय गर्नु गलत हो, यस्लाई तत्काल सच्याएर सो क्षेत्रमा पार्क निर्माण गर्नुपर्छ । विभिन्न समयका सरकारले सो क्षेत्रमा संसद आवास बनाउने निर्णय गरेको थियो । त्यस अघि सुविधा सम्पन्न कारागार निर्माण गर्ने निर्णय गरेको थियो । कारागार बन्न नसक्ने भएपछि सो क्षेत्रमा शसस्त्र प्रहरीको दंगा गण राख्ने निर्णय गरेका थिए ।

हामीलाई जानकारी नदिइ सरकारले मनपरी निर्णय गरेपछि अघिल्ला योजना कुनैपनि सफल हुन सकेन, अहिलेपछि आवास बनाउन दिदैनौ–वडा अध्यक्ष खड्काको भनाई थियो । नेपाली काग्रेसका नेता एवं पुर्व राजदुत दीपकुमार उपाध्यायले हरियाली क्षेत्रको विकास गर्न बिर्सेर सरकारले खुला क्षेत्रमा आवास बनाउने निर्णय गर्नु गलत भएको बताउनुभयो । उहाले भन्नुभयो– सरकारले निर्माण प्रकृया शुरु गर्नु अघि स्थानीयको राय लिनुपर्ने अवस्थामा एकलौटी रुपमा आवास क्षेत्र निर्माण गर्न खोजेको आरोप लगाउनुभयो । अब हामी हेरेर बस्नुहुन्न तत्काल सरकार र सरोकारवाला निकायलाई आवास बनाउने निर्णण् फिर्ता गराउन दवाव दिन लाग्नुपर्छ–उहाको भनाई थयो ।

साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले अन्तराष्ट्रिय स्तरको पार्क निर्माण गर्नुपर्ने स्थानमा सरकारले हचुवाको भरमा मन्त्री आवास क्षेत्र निर्माण गरेर गलत कामको शुरुवात गर्न लागेको आरोप लगाउदै सो क्षेत्रलाई हरित खुला क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाले कंक्रिट जंगलको रुपमा विकास भैरहेको विश्वकै सुन्दर उपत्यका काठमाडौ र यहा भएका खुला क्षेत्रको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

बिसं २०७२ सालको भुकम्प दाजा हजारौ जनता सुरक्षित रुपमा आश्रय लिएको यो आवास क्षेत्रलाई अन्तराष्ट्रिय पार्कको रुपमा विकास गर्नुको विकल्प नभएको र त्यसको लागि हामी सबैले पहल गर्नुपर्ने उहाको धारणा थियो । स्थानीय समाजसेवी एवं नेकपाका जिल्ला सदस्य दामोदर खड्काले सबै स्थानीय एकजुट भएर मन्त्री निवास निर्माण गर्ने सरकारको निर्णयको विरोध गर्नुपर्ने बताउनुभयो । हामी समन्वय समिति होस वा संघर्ष समिति वा सरोकार समिति निर्माण गरी सरकारको निर्णयको विरोधमा लाग्नुको विकल्प नभएको उहाको भनाई थियो । त्यसको लागि सांसद, प्रदेश सांसद, वडा नम्बर १८ र २५ का वडा अध्यक्ष , स्थानीय सरोकार समिति लगायत निकायले सो विषयमा सरकारसंग छलफल गर्नुपर्ने बताउनुभयो ।

भेलामा नेपाल महिला संघकी सदस्य निरु खड्का, समाजसेवी मदन महत, हरिकुमार थापा, शंकर थापामगर, विनोद कुवँर लगायतले सो क्षेत्रमा पार्क निर्माण गर्न लागि पर्नुपर्ने बताए । लालीगुँरास क्लबले आयोजना गरेको कार्यक्रममा अधिकांसले खुला क्षेत्रलाई खुला क्षेत्रकै रुपमा विकास गर्नुपर्ने, विकास भैसकेको स्थानमा मन्त्री आवास क्षेत्र बनाउन नहुने लगायतका धारणा राखेका थिए । भेलामा स्थानीय श्रीवालकुमारी श्रृजना क्लबका अध्यक्ष शालिकराम कुवँर,स्थानीय टोल सुधार समिति, विभिन्न दलका नेताहरुको उपस्थित रहेका थिए ।

गएको मंसिर १७ गतेको मन्त्री परिषद्को बैठकले सैबु आवास क्षेत्रमा रहेको जग्गामा ३३ वटा आवास भवन बनाउने निर्णय गरेको थियो । निर्णय लगत्तै शहरी विकास तथा भवन निर्माण विभागले आवास निर्माण गर्न ड्रइङ डिजाइन समेत तयारी गरिसकेको छ । तीन वर्ष भित्र सम्पन्न गर्नेगरी करिब २ अर्ब रुपिया लागतमा निर्माण गर्न लागिएको आवासमा हेल्थ क्लब, सपिङ सेन्टर लगायत सम्पुर्ण सुविधा हुनेछ ।