बाढीपहिरो पिडीतलाई तीन लाख राहत माग


हेटौंडा ।
असार २७ गतेदेखिको अविरल वर्षाका कारण देशभर आएको बाढीपहिरो र डुबानमा परी भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलले गहिरो दुःख व्यक्त गरेको छ । प्रदेशमा बाढीपहिरोमा परी मृत्यु भएका, घाइते एवम् हजारौं संख्यामा घरपरिवार विस्थापित र पीडित भएको हुँदा यस विषम विपद्को घटनाप्रति नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले शुक्रबार विज्ञप्ति प्रकाशन गरी बाढीपहिरो र डुबानमा परी मृत्यु भएका परिवारलाई प्रदेश सरकारले तत्काल एक लाख दिने निर्णय गरेकोमा उक्त रकम अत्यन्त न्यून भएका कारण तत्काल प्रतिपरिवार तीन लाखका दरले राहतस्वरुप रकम उपलब्ध गराउन माग गर्नुभएको छ ।

बाढीपहिरो र डुबानका कारण पूर्ण र आंशिक क्षति भएका घरपरिवारलाई अस्थायी आश्रयस्थल, खाना र लत्ताकपडाको व्यवस्थाका साथै प्राकृतिक प्रकोपको पीडाबाट बाहिर निस्कन तत्काल एक लाखसम्म राहतस्वरुप रकम उपलब्ध गराउन कांग्रेसले माग गरेको छ ।

नेपाली कांग्रेस ३ नम्बर प्रदेशसभा सदस्यका तर्फबाट बाढीपहिरो र डुबानमा परेकाहरुलाई राहतका लागि ५ दिनको सुविधाबापत् रकम प्रदेश सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ । राहत तथा उद्धारको काममा सहयोगका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलले अपिल गरेको छ ।

प्रदेश–३ मा १८ जनाको मृत्यु
अविरल वर्षाका कारण प्रदेश–३ मा मानवीय क्षति भएको छ । प्रदेशमा केन्द्रका तीन जिल्लाबाहेक १० जिल्लामा असार २५ गतेदेखि हालसम्मको वर्षाका कारणले विभिन्न ठाउँमा क्षति पुगेको प्रदेशको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

प्रदेशभर १८ जनाको मृत्यु भएको छ । पहिरो तथा बाढीका कारण १३ घाइते, पाँच जना हालसम्म बेपत्ता रहेको मन्त्रालयले जानकारी दिएको छ । चितवनमा मृत्यु हुनेको संख्या एक, घाइते एक, धादिङमा दुई जनाको मृत्यु, घाइते एक र बेपत्ता एक, दोलखामा घाइते एक, काभ्रेमा मृत्यु तीन, घाइते एक, मकवानपुरमा मृत्यु संख्या ६, घाइते पाँच रहेको तथ्यांकमा उल्लेख छ ।

रामेछापमा मृत्यु एक र घाइते एक, सिन्धुलीमा मृत्यु पाँच, घाइते दुई र बेपत्ता संख्या चार छ । सिन्धुपाल्चोक, रसुवा र नुवाकोटमा मानवीय क्षति नभएको जनाइएको छ ।

४१ वटा घर क्षतिमा २६ लाख ७० हजार रकम बराबर क्षति भएको छ । धादिङमा दुई, दोलखामा तीन, काभ्रेमा ६ वटा घरमा क्षति हुँदा १४ लाख ५० हजार बराबर रकम क्षति, मकवानपुरमा २० वटा घरमा आठ लाख २० हजार रुपियाँ बराबर क्षति, रामेछापमा तीन घरमा एक लाख ३० हजार बराबर क्षति, सिन्धुलीमा सात घरको एक लाख रुपियाँ बराबरको क्षति भएको मन्त्रालयको तथ्यांक छ ।