सुदूरपश्चिममा एक वर्षमा दुर्घटनामा दुई सय २३ को मृत्यु


डोटी ।  सुदूरपश्चिम प्रदेशमा वर्षेनी ठूलाठूला सवारी दुर्घटना हुने गरेका छन् । साँघुरा सडक, सवारी चालकको लापवाहीका कारणले वर्षेनी सयौँको सङ्ख्यामा सवारी दुर्घटना हुने गरेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

गत आर्थिक वर्ष २०७५÷७६ मा सुदूरपश्चिममा सबैभन्दा बढी सवारी दुर्घटना भएको सो कार्यालयको तत्थ्याङ्कमा उल्लेख गरिएको छ । ट्राफिकका निमित्त प्रमुख प्रहरी निरीक्षक लालबहादुर साउदका अनुसार गत आर्थिक वर्षमा सुदूरपश्चिममा साना ठूला गरी कूल २३४ वटा सवारी दुर्घटनामा परेका छन् ।

दुर्घटनामा परी २२३ ले ज्यान गुमाएका छन् भने ४३४ घाइते भएका छन् । उहाँका अनुसार सुदूरपश्चिमका नौ जिल्लामध्ये डडेल्धुरामा ३५, अछाममा १३, कञ्चनपुरमा ४५, बैतडीमा १०, दार्चुलामा १५, बझाङमा २४, बाजुरामा छ र डोटीमा नौको दुर्घटनामा मृत्यु भएको छ । मृत्यु हुनेमा पुरुष १५६, महिला ४४ र बालबालिका २३ छन् ।

ट्राफिकका अनुसार दुर्घटनामा सबै भन्दा बढी मोटरसाइकल चालक छन् । सवारी साधनको चाप बढ्दै जानु, यात्रु र चालक दुवैको लापरवाही र सडकको अवस्थाका कारण वर्षेनी सवारी दुर्घटना बढ्दै गएको निरीक्षक साउदले बताउनुभयो । रासस