‘जथाभावी विद्युत् काटे आन्दोलन’


हेटौंडा ।
मकवानपुरमा नेपाल विद्युत् प्राधिकरणको लापरबाहीका कारण हिउँद/वर्षा प्रत्येक दिन आधा/एक घण्टामा बिजुली जाने र कहिले १५ मिनेट, कहिले आधा घण्टा त कहिले दुई÷चार घण्टा नै विद्युत् नआउने समस्याबाट सबै पीडित छन् ।

विद्युत् गएको सम्बन्धमा प्राधिकरणमा फोन गर्दा प्रायः फोन व्यस्त हुने र फोन लागिहाले विभिन्न बहाना बनाएर टार्ने गरिएको भन्दै बिनासूचना विद्युत् लाइन काटिए आमउपभोक्ताले आफ्नो अधिकारका लागि आन्दोलन गर्नुपर्ने वाध्यता आउनसक्ने भएकोले यसतर्फ ध्यानाकर्षण गराइएको छ ।

यस्तो संवेदनशील ठाउँका कर्मचारीहरु २४ सै घण्टा ड्युटीमा रहने र सेवा दिनुपर्नेमा रातभर पनि विद्युत् प्रसारणमा अवरोध हुने गरेकोमा आक्रोश व्यक्त गरिएको छ ।जनसरोकार केन्द्र मकवानपुरले शुक्रबार विज्ञप्ति जारी गर्दै विद्युत्जस्तो अत्यावश्यक कुरा सुचारु बनाउने र भवितव्यबाहेक अन्य समयमा सही सूचना उपभोक्तालाई दिएरमात्र विद्युत् लाइन कटौती गर्दा उपभोक्तालाई बैकल्पिक व्यबस्था गर्न सजिलो हुनेतर्फ आशा राख्दै यसतर्फ प्राधिकरणको ध्यानाकर्षण गरेको छ ।

केन्द्र संयोजक ध्रुवप्रसाद चौलागाईंले नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा २३ ले जथाभाबी विद्युत् कटौती गर्न नपाइने प्रष्ट पारेको दाबी गर्नुभयो । ‘उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३ मा उपभोक्ता अधिकारबारे प्रष्ट पारिएको छ,’ अधिवक्तासमेत रहनुभएका उहाँले भन्नुभयो–भवितव्य पर्दा विद्युत्लाइन काट्नु अन्यथा होइन, तर प्रत्येक दिन बिनासूचना लाइन काटनु उपभोक्तामाथिको बेइमानी हो । यसो गर्ने छुट कानुनले दिएको छैन । यदि लाइन काट्ने हो भने कारणसहित सूचना दिनुपर्नेमा उपभोक्तालाई दुःख दिइएको उहाँको भनाइ छ ।