बुटवलका १९ वडामा ज्येष्ठ नागरिक मिलन केन्द्र


यमलाल भुसाल, बुटवल । प्रदेश पाँचको अस्थायी मुकाम रहेको बुटवल उपमहानगरपालिकाले एक वडा एक ज्येष्ठ नागरिक मिलन केन्द्रको अभियान सुरु गरेको छ । उपमहानगरपालिकाका १९ वटै वडामा ज्येष्ठ नागरिकका लागि मिलन केन्द्र सञ्चालन गरिने भएको छ् ।

नगरका ज्येष्ठ नागरिकहरुलाई भेट्ने, भलाकुसारी गर्ने, गफिने, अनुभव साटासाट गर्ने र त्यहीँ बेलाबेलामा उनीहरुको स्वास्थ्य चेकजाँच समेत गर्ने गरि बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिक मिलन केन्द्रको अवधारणा ल्याएको हो ।

यसलाई उपमहानगरले नीति तथा कार्यक्रममै समावेश गरेको थियो । तीव्र शहरीकरण र सन्तानहरु अनेक काममा व्यस्त हुँदा ज्येष्ठ नागरिकहरु टहलाउने र भुल्ने ठाउँको अभाव भइरहेका बेलामा बुटवल उपमहानगरले खुला ठाउँमा हरियाली सहितका मिलन केन्द्र बनाउन सुरुआत गरेको छ ।

बुटवल–१३ बेलबासमा मिलन केन्द्रको शुक्रबार शिलान्यास गर्दै उपप्रमुख गुमादेवी आचार्यले ज्येष्ठ नागरिकलाई आनन्ददायी तरिकाले समय बिताउन सहयोग पुर्याउने उद्देश्यले ज्येष्ठ नागरिक मिलन केन्द्रको अवधारणा ल्याइएको बताउनुभयो ।

पाकापुस्ताका अनुभवहरु नयाँ पुस्ताका लागि मार्गदर्शन बन्ने भएकाले त्यस्ता मिलन केन्द्रमा समय समयमा अनुभव आदानप्रदानका कार्यक्रमहरु पनि राख्न मिल्ने गरि गुरुयोजना बनाउन लगाइएको उपप्रमुख आचार्यले बताउनुभयो । मिलन केन्द्रमै बेलाबेलामा ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँचसमेत गरिने छ ।

ज्येष्ठ नागरिकका अनुभव, ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि मिलन केन्द्रको अवधारणा ल्याइएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो । ज्येष्ठ नागरिकलाई आनन्दमय तरिकाले चिन्तन÷मनन गर्ने र त्यहीँ आफ्नो स्वास्थ्यको समेत चेकजाँच गर्न पाउने सहितको व्यवस्था मिलाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।

बुटवल वडा नं. १३ वडा अध्यक्ष नारायणप्रसाद पुनले वडाका जेष्ठ नागरिकलाई घरमा वस्दा वोहोर लाग्ने भएकाले मिलन केन्द्रमा राखेर दिन भरि भुलाउने साँभपरेपछि घर लैजाने गरि व्यवस्था मिलाउने बताउनु भयो ।
बेलबासमा शिलान्यास भएको ज्येष्ठ नागरिक मिलन केन्द्र करिब ३० लाख बराबरको लगानीमा बन्ने छ । यस्का लागि कोरियन भोलेन्टियर प्रोग्राम अन्तर्गत सहयोग प्राप्त भएको छ ।

तीन महिनामा निर्माण सम्पन्न गर्ने गरि उपभोक्ता समितिमार्फत काम सुरु गरिएको र त्यो उपभोक्ता समितिमा ज्येष्ठ नागरिक नै रहने प्रावधान राखिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।

उपमहानगरका समावेशीकरण तथा मूल प्रवाहीकरण शाखाका प्रमुख दामोदर ज्ञवालीका अनुसार सबै वडामा ज्येष्ठ नागरिक मञ्च सम्बन्धी समितिहरु गठन भइसकेका छन् । ज्येष्ठ नागरिक मञ्च गठन तथा सञ्चालन कार्यविधि–२०७५ स्वीकृत भएको र सोही अनुरुप ६० वर्ष उमेर पूरा भएकालाई ज्येष्ठ नागरिक परिचयपत्र वडाबाटै वितरण भइरहेको शाखा प्रमुख ज्ञवालीले बताउनुभयो ।

बुटवल उपमहानगरपालिकामा ७० वर्ष उमेर पूरा भएका तीन हजार ६ सय १७ जना र ६० वर्ष उमेर पूरा भएका दलित ज्येष्ठ नागरिक ६ सय ५९ जनाले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन् ।