लक्ष्य अनुसार राजस्व संकलन हुन सकेन


बैतडी । पछिल्लो बर्षहरुमा महाकाली भन्सार कार्यालय झुलाघाटले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकिरहेको छैन् । भारतसंग सीमा जोडिएको नाका झुलाघाटमा रहेको भन्सार कार्यालयले तोकेको लक्ष्य अनुसार गत आर्थिक बर्षमा पनि राजस्व संकलन गर्न सकेको छैन् ।

गत आर्थिक बर्षमा १ करोड ९ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको भन्सार कार्यालयले ८९ लाख ७७ हजार मात्रै राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक बर्ष २०७४/७५ मा १ करोड १९ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको कार्यालय ७१ लाख ७७ हजार मात्रै राजस्व संकलन गर्न सफल भएको थियो । तर आर्थिक बर्ष २०७३/७४ मा १ करोड ४४ लाख र आर्थिक बर्ष २०७२/७३ मा १ करोड ४० लाख राजस्व संकलन भएको थियो ।

भारतमा वस्तु विक्री कर (जीएसटी) लागु भएपछि भारतबाट आयत हुने सामग्रीमा कमी आएको र यसले राजस्व संकलनमा प्रभाव पारेको महाकाली भन्सार कार्यालयका निमित्त प्रमुख डिल्लीराम सुवेदीले बताउनुभयो । पछिल्लो दुई बर्ष यता महाकाली भन्सारबाट सिमेन्टको आयत हुन नसकेको उहाँले बताउनुभयो ।

वस्तु विक्री कर लागू भएपछि भारतीय बजार सामग्री मूल्य उच्च भएकाले आयातमा कमी आएको र यसले राजस्वमा कमी आएको महाकाली भन्सार कार्यालय झुलाघाटले जनाएको छ ।