सरकारका दुई निकायको टकरावले हेटौंडाको वन संकाय धरासायी


कृष्णउदास खनाल वीरगन्ज । वीरगन्ज रानीघाटका उपेन्द्र महतो असिहले हेटौंडाको वन बिज्ञान संकायमा चौंथो बर्षमा अध्ययनरत हुनुहुन्छ तर त्यहाँको बेथितिले उहाँलाई पढ्न मन लाग्दैन । सरकारका दुईवटा निकायको टकरावका कारण हेटौंडामा रहेको वन बिज्ञान संकाय लथालिंग बनेको छ । त्रिभुवन बिश्वबिद्यालय र कृषि तथा बन बिज्ञान बिश्वबिद्यालयको टकरावका कारण बन बिज्ञान संकाय धरासायी बन्दै गएको हो । अहिले बन बिज्ञान संकायको हेटौंडामा बनको पढाइ भइरहेको छ भने कृषिको पढाइ हुन सकेको छैन ।

विवादको सुरुवात

२०६७ साल असार ३ गते तत्कालिन प्रधानमन्त्री डा.बावुराम भट्टराई सरकारले त्रिभुवन बिश्वबिद्यालय अन्तरगत रहेको वन बिज्ञान संकायका सबै जग्गा कृषि तथा बन बिज्ञान संकायमा ल्याउने निर्णय ग¥यो । त्यसपछि यी दुई निकायका बीचमा टकराव शुरु भयो । हेटौंडामा रहेको वन बिज्ञान संकायको १सय ५७ बिघा१९ कठ्ठा १४ धुर जग्गा कृषि तथा बनबिज्ञान बिश्वबिद्यालयमा ल्याउने निर्णय ग¥यो ।

त्यसपछि विवाद शुरु भयो । त्रिभुवन बिश्वबिद्यालयकै मातहतमा रहेको वन संकायमा कृषि तथा वन बिश्वबिद्यालयको कार्यालय समेत स्थापना गरियो । चीतवनको रामपुरमा रहेको कृषि बिश्वबिद्यालयलाई सरकारले हेटौंडामा ल्यायो । अहिले वन संकायको भवनभित्र उसको आफ्नै कार्यालय सहित बिश्वबिद्यालयको कार्यालय छ र डीन पनि छन् ।

मुख्यमन्त्री नै विवादमा

प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणी पौडेलले कृषि तथा बन बिज्ञान बिश्वबिद्यालयको शिलान्यास गरेपनि जग हाल्न समेत दिइएको छैन । जग राख्नका लागि सबै सामान भवन परिषरमा छरपस्ट छन् । तर, काम गर्न सुरु हुन दिइएको छैन । कृषि तथा वन बिज्ञान बिश्वबिद्यालयको भवन उनले यही असार ९ गते शिलान्यास गरेका थिए । नेपाल सरकारको १० करोड रुपैयाँको लागतमा बन्न लागेको भवन शिलान्यास गरेपनि भवन निर्माण गर्नका लागि बाधक अदालत बनेको छ ।कुरा नै नबुझी मृुख्यमन्त्री पौडेलले हतारमा शिलान्यास गरेको भन्दै मुख्यमन्त्री समेत विवादमा मुछिएका हुन् ।

पुनरावेदन अदालत हेटौंडा इजलालले साउन ३गते तत्कालका लागि भवन निर्माण नगर्नु भन्ने आदेश दिएपछि हालका लागि कृषि तथा बिश्वबिद्यालयको भवन हेटौंडामा निर्माण गर्ने योजना सहित बिद्यार्थी पठाउने लक्ष्य पनि तुहिएको हो ।मुख्य कुरा निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले घर बनाउने भन्दै २ करोड लगिसकेका कारण त्यो सरकारको रकम गुम्ने स्पष्ट भएको छ ।

विद्यार्थी र प्राध्यापक अन्यौलमा

सर्लाही घर भइ वन बिज्ञानमा अध्ययतरत बिद्यार्थी पंकज ठाकुरले सरकारका दुई निकायबीचको यो टकरावले आफूहरुको पढाइ लथालिंग भएको गुनासो गरे । उनले तत्काल समस्या समाधान नभए वन बिज्ञानको अस्तित्व सकिने बताए । त्यसो त त्रिभुवन बिश्वबिद्यालय र कृषि तथा वन बिश्वबिद्यलायको कार्यालय एउटै भवनमा संचालित छ । सरकारका दुई निकायको टकराव र स्पष्ट नीतिको अभावमा काम गर्न साह्रै भएको कृषि तथा वन बिज्ञान संकायका डीन डा.बलराम भट्टले बताए । उनकै जस्तै समस्या वन बिज्ञान संकायका प्रमुख बिजय यादवको पनि छ । अहिले यीनै दुई निकायले सरकारको यो जग्गा आफूहरुको भएको दाबी गर्दै आइरहेका छन् ।

प्रतिवेदन कार्यान्वयनको माग

सरकारले यी निकायकाबीचमा विवाद उत्पन्न भएपछि छानबिनका लागि एक उच्च स्तरीय समिति बनाएको थियो ।गीताभक्त जोशीको संयोजकत्वमा बनाएको प्रतिवेदन कार्यान्वयन गर्न माग गरिएको छ । प्रतिवेदनले बन र कृषि दुबै निकाय चितवनको शक्तिखोरमा संचालन गर्नुपर्ने एउटा बिकल्प दिएको छ भने अर्को हेटौंडामा नै दुबै निकाय संचालन गर्नुपर्ने भए केके गर्न सकिन्छ सोको बिवरण सरकारलाई बुझाउन भनिएको छ तर यो कार्यान्वन भएको छैन । स्मरणीय रहोस्,यी दुबै निकायको कुलपति भने प्रधानमन्त्री रहने ब्यवस्था छ ।