सडक की खेतको आली !


चिरञ्जीवी मास्के, दोलखा । ठेकेदार कम्पनिको लार्पवाहि र डिभिजन सडक कार्यालयको हेलचेक्राईका कारण लामोसाँगु जिरी सडकको लामोसाँगु चरिकोट खण्डका बिभिन्न ठाँउमा हिलो जमेर खेतको आली जस्तो हुँदा दैनिक सयौ यात्रु र सडक आसपासका स्थानियले सास्ती भोगीरहेका छन् ।

भारतिय एक्जिम बैङ्कको झण्डै एक अरब २४ करोड ऋण सहयोगमा ५५ किलोमीटरको लामोसाँगु चरिकोट सडक विस्तारको क्रममा बिभिन्न ठाँउमा थुपारिएको माटोका कारण अहिले सडक खेतको आली जस्तो बनेको यात्रुहरुको गुनासो छ । काठमाडौँ चरिकोटको एक सय ३३ किलो मीटरको दूरी तय गर्न १२ घण्टा भन्दा बढी समय लाग्छ तर यस्तो संवेदनसिल विषयमा सरोकारवाला निकायमात्र हैन राजनीतिक दलहरुले पनि चासो दिएका छैनन् – पििडत यात्रु तथा सडक आसपासका वासिन्दाले आक्रोशित हुदै भने ।

विगत केहि दिन देखि सवारी साधनलाई गन्तव्यसम्म पु¥याउन सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाँउपालिका वडा नम्बर ७ डाँडापाखरमा दिनरात नभनि सक्रिय बनेका प्रहरी हवल्दार ज्ञानबहादुर बोहोरा सडकको दुरावस्थाले सयौ यात्रुले कष्ट बेहोरी रहेको बताउछन् ।
दैनिक एक सय भन्दा बढी साना तथा ठूला सवारी साधन सञ्चालन हुने लामोसाँगु चरिकोट सडकमा अहिले डोजरले तानेर मुश्किलले बसहरु सञ्चालन गरिदै आएको छ । लामोसाँगु चरिकोट सडक विस्तार कार्यक्रम अन्र्तगत लामोसाँगु मूडे २५ किलोमीटर सडक विस्तार र मूडे चरिकोट ३० किलोमीटर सडक विस्तारको कामको सम्झौता २०७२ भदौमा भएको थियो । दुबै कामको सम्पन्न अवधि दुई बर्षको थियो । तर सम्पन्न अवधि सकिएर एक बर्ष नाघिसक्दा समेत दुबै कामको प्रगति ७० प्रतिशत पनि हुन नसकेपछि सडक डिभिजन कार्यालय चरिकोटले हर्जाना लगाएको थियो ।

लामोसाँगु मूडे सडक खण्ड अन्र्तगत चेनेज ० किमी देखि २५ किमीसम्म लामोसाँगु मूडे सडक खण्डको काम गरिरहेको सिमाञ्चल, गौरी पार्वती, सुनौलो खिम्ति जेभीले अहिले दैनिक झण्डै तीन लाखको दरले हर्जाना तिरीरहेको र चेनेज २५ किमी देखी ५५ किमीसम्म मूडे चरिकोट सडक खण्डको काम गरिरहेको शकिल हेदर, शङ्करमाली, सुनौला खिम्ति जेभीले अहिले दैनिक झण्डै चार लाखको दरले हर्जाना तिरीरहेको डिभिजन सडक कार्यालय दोलखाका प्रमुख एवं आयोजना प्रमुख धमेन्द्र कुमार झाले बताउनु भयो ।

त्यति गर्दा पनि काम नभएपछि साउन ५ गते सार्वजनिक सूचना मार्फत तीन दिने अल्टिमेटम सहित काम सम्पन्न नहुदासम्मको लागि यातायात सहज हुने गरी आवश्यक व्यवस्थापन गर्न चेतावनी दिईएको र अहिले खाल्डा खुल्डी पुर्ने र अन्य आवश्यक व्यवस्थापनको काम भै रहेको आयोजना प्रमुख झाले बताउनु भयो ।

तर खेतको आली जस्तो बनेको सडकको दायाँ वायाँका स्थानिय भने सडक व्यवस्थापनको लागि डिभिजन सडक कार्यालय तथा ठेकेदार कम्पनिका मानिस कोहि पनि उपस्थित नभएको बताउछन् । हामीलाई आफ्नै घरमा पुग्न पनि समस्या छ, सवारी साधनहरु त गुड्न नसकेर २/३ दिनसम्म थनकिएर बसेका छन् तर यसको व्यवस्थापनको लागि कसैको पनि सक्रियता देखिएको छैन – स्थानिय सानुकान्छि तमाङले भन्नु भयो ।

डिभिजन कार्यालय दोलखाका प्रमुख झा अहिले कार्यालय र ठेकेदार कम्पनिका केहि जेसिभिले सवारी साधनलाई तानेर गन्तव्यसम्म पुर्याई रहेको र शुक्रवार देखि हिलो सडकमा रोडा ढुङ विच्छाएर यातायात आवागमन सहज बनाउने प्रयास गरिने बताउनु हुन्छ ।