मन्दिरको रकममा अनियमितता, प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण


पाल्पा ।
केही समय यता यस क्षेत्रमै धार्मिक पर्यटनका रुपमा कहलिएको पाल्पाको भैरवस्थान मन्दिरमा त्यहाका पदाधिकारीले अनियमितता गरेको भन्दै स्थानीयले निष्पक्ष छानविनको माग गरेका छन । स्थानीयले भैरवस्थान मन्दिरको लाखौ रकम आर्थिक अनियमिता भएको भन्दै कारवाहिको माग गरेका छन् ।

पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं ४ मा रहेको भैरवस्थान मन्दिरमा व्यवस्थापन समितिका अध्यक्ष तुलवहादुर अधिकारी र कोषाध्यक्ष मीनप्रसाद अधिकारीले अनाधिकृत रुपमा २७ लाख २० हजार रुपैया झिकेको र अरुपनि अनियमितता भएको हुन सक्ने भन्दै उनीहरुले विहीवार व्यक्ति तथा संस्थालाई आवश्यक कानुनी कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवलाई ध्यानाकर्षण गराएका छन् । ‘मन्दिर जस्तो पवित्र स्थलको रकम वर्तमान कार्यसमितिबाट हिनामिना भएको भन्दै कारवाहिको माग गरेका छौ –‘स्थानीय गोविन्द वहादुर पोखरेलले भन्नुभयो ।

सो विषयमा अध्यक्ष अधिकारीले रकम निकालेको स्वीकार गर्दै ‘निर्माणको काम भइरहेको थियो, निर्माणकर्मी र निर्माण सामग्रीको रकम भुक्तानीका लागि रकम निकालेका हौं,तर केही समय पछि निर्माण कार्यका लागि पैसा आएपछि त्यो दाखिला गरियो । आर्थिकअनियमिता गर्ने कुनै पनि नियत होइन ’भन्नुभयो ।

सोही गुनासाका सम्वन्धमा रिव्दीकोट गाउँ पालिकाका अध्यक्ष नारायण जिसीले , पैसा निर्णय नगरी निकालेको भन्ने हल्ला आयो, हामी सो विषयमा अनसंन्धान गर्दै रहेको वताउनुभयो ।

स्थानीय वासिन्दाले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष र कोषाध्यक्षले रकम अनाधिकृत रुपमा बैंकबाट निकालेर चलाएको बताएका छन् । मन्दिरको रकम तानसेनको गरिमा विकास बैंकको खातामा जम्मा रहेको र त्यहाँबाट अध्यक्ष तुलबहादुर अधिकारी र कोषाध्यक्ष मीनप्रसाद अधिकारीको संयुक्त हस्ताक्षरबाट २७ लाख २० हजार निकालेको विषय बाहिर आएपछि अहिले सो रकम बैंकमा दाखिला गरी हिसाव मिलान गर्ने कार्य भएको वताएका छन ।

पछिल्लो समयमा यो मन्दिरमा पूजा र अन्य क्रियाकलाप व्यवस्थित भएपछि दैनिक भक्तजनहरुको घु्इचो लाग्ने गरेको छ । मन्दिरको चर्चा परिचर्चा देश विदेशमा समेत वढेसँगै आम्दानी पनि वढेको देखिन्छ भने मन्दिरमा पुर्ननिर्माण र यसलाई पर्यटकीय केन्द्रका रुपमा विकसित गर्नका लागि विभिन्न प्रयास र कार्यहरु हुदै आएका छन ।