वडाध्यक्षले माफी मागेपछि आन्दोलनरत कर्मचारी काममा फर्किए

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
पर्सामा आन्दोलनमा रहेका कर्मचारीहरु काममा फर्किएका छन् । वडाध्यक्षलगायतले माफी मागेपछि स्थानीय तहका कर्मचारीहरुको आन्दोलन स्थगित गरेका हुन् । गत साउन ५ गते सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवलाई अभद्र ब्यबहार गर्ने वडाध्यक्षलगायतले माफी मागेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्सामा भएको छलफलमा लिखितरुपमा माफी मागेपछि स्थानीय तहका कर्मचारी आन्दोलन स्थगित गरी नियमित काममा फर्किन तयार भएका छन् ।नियम विपरीत कामको भुक्तानी नदिइने, कर्मचारीहरुलाई कुनै पनि असुरक्षाको अवस्थाको सिर्जना हुन नदिने, गाउँपालिकाको अध्यक्षले सबै कर्मचारीको सुरक्षाको जिम्मेवारी लिने सहमति पत्रमा हस्ताक्षर भएपछि आन्दोलन स्थगित गरिएको नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अमित गिरीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्सामा पर्सा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु बीचमा भएको वार्तामा लामो समयसम्म सहमति हुन सकेको थिएन । पछि दुवै तर्फका ५र५ जना प्रतिनिधिको बीचमा बार्ता भएपछि लिखित सहमति भएको हो ।