भारतीय ट्रकले ठक्कर दिँदा एकको मृत्यु, मृत्युपछि स्थानीयद्धारा १३ सवारी तोडफोड


विराटनगर ।
विराटनगर महानगरपालिका–१५ स्थित रानी सडक लहरीले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बिहीबार अपरान्ह भारतबाट कच्चापदार्थ बोकेर नेपाल भित्रिएको भारतीय ट्रकको ठक्करपछि मोटरसाइकल चालक २२ वर्षीय अमर सिंहको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटना पश्चात नेपाल–भारतको सीमा क्षेत्रमा तनाव भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको विरोधमा प्रदर्शन र तोडफोड हुन थालेपछि रानी बसपार्क क्षेत्रको अवस्था असामान्य बनेको छ । घटनाको विरोधमा उत्रिएका स्थानीय बासिन्दाले दुर्घटना गराउने लहरीसहित कम्तीमा १३ वटा मालबहाक सवारी साधनमा तोडफोड गरेको प्रहरीले जनाएको छ।

स्थानीयले भन्सार कार्यालय नजिकैको सडकमा टायर बालेर प्रदर्शन गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार भारतीय नम्बर एन.एल.०१.डी ३६९० नम्बरको ट्रकले भारतीय नम्बर बी.आर.३८ आर ३२१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा सिंहको घटनास्थलमै मृत्यु थियो । दुवै सवारी साधन भारतबाट नेपालतर्फ आउँदै थिए।

मृतकको शव पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पताल विराटनगर ल्याइएको छ। दुर्घटनापछि ट्रकका चालक भने फरार छन् ।