वर्षाले माण्डु हाइड्रोको उत्पादन बन्द, करिब ९ करोड क्षति


हेटौंडा ।
मकवानपुरको भीमफेदी–८, कोगटे दोभानमा रहेको निजी क्षेत्रको माण्डु हाइड्रोलाई वर्षाका कारण करिब ६ करोड ४ लाखबराबरको क्षति भएको । विद्युत् उत्पादन नहुँदा बुधबारसम्म करिब तीन करोड घाटा लागिसकेको छ । २२ मेगावाट्को माण्डु हाइड्रोमा उत्पादित बिजुली कुलेखानी पहिलोमार्फत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ ।

वर्षाका कारण उद्यागेको सिलटिङ बेसिनको इनलेट गेटमा क्षति पुगेको छ भने पावरहाउसतर्फ पेनस्टक पाइप पुरेको माटो बगाएर ढलानमा क्षति भएको छ । बागमती खोलाको बाढीले जलविद्युत् गृहको टेलरेसमा ढुंगा, गिट्टी, बालुवा र माटोले भरिएकोले उद्योगलाई क्षति भएको हाइड्रोका जनसम्पर्क अधिकृत पुरुषोत्तम दानीले जानकारी दिनुभयो । उहाँका अनुसार क्षति उद्योगको मेसिन हाल मर्मत कार्य भइरहेको छ । साउन १५ गतेभित्र मर्मत गरिसक्ने अपेक्षा छ ।

बाढीका कारण खहरे आएर पावरहाउसको सिलटिङ बेसिनमा गिट्टी, बालुवा, माटो पुरेर क्षति भएको हो । असार २३ गतेबाट परेको पानीका कारण २४ गते राति दक्षिणतर्फको खहरे खोलाको पानी निकास हुने ठाउँमा क्षति भएको थियो ।

माण्डु नेपाली लगानीकर्ताको ५१ प्रतिशत र चिनियाँको ४९ प्रतिशत गरी ४ अर्ब २५ करोड संयुक्त लगानीमा निर्मित जलविद्युत् योजना हो । योजनामा भीमफेदी–५, ६, ७, ८ र ललितपुरको बागमती गाउँपालिकाको माल्टा र धुसेलका गरी १ हजार ८ सय घरधुरीको शेयर छ ।

बागमती र कोगटेको पानीलाई इपापञ्चकन्या दोभानमा बाँध बनाएर सुरुङमार्फत् इपापञ्चकन्याको बगरबेंसीस्थित पावरहाउसमा पानी खसालेर विद्युत् उत्पादन हुँदै आएको छ ।

इपापञ्चकन्या दोभानमा १० देखि १३ मिटर उचाईंका बाँध छन् । दुई हजार ४ सय २४ मिटर लामो मुख्य सुरुङको चौडाईं ३ दशमलव ७ र उचाईं ३ दशमलव ८ डायमिटर छ । सुरुङबाट प्रतिसेकेन्ड १२ दशमलव चार क्युसेक पानी बग्ने क्षमता छ ।