पप्पु कन्ट्रक्सनको धरौटी रकम जफत


उत्तम नेपाल, भद्रपुर । हुलाकी राजमार्गअन्तर्गत झापाको कन्काई नदीमा निर्माणाधीन पुलको निर्माण कम्पनीको तीन करोड रुपैयाँ जफत गरिएको छ । वीरगञ्जको पप्पु कन्स्ट्रक्सन निर्माण सेवा टाट पल्टिएपछि ठेक्का बापतको रकम जफत गरिएको हो ।

वीरगञ्जको पप्पु कन्स्ट्रक्सनले कन्काई नदीको पुल निर्माणका लागि ०६८ साल जेठ ३१ गते ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार तत्कालीन पप्पु माहादेवा जेभीले २०७२ साल जेठ ३० गतेसम्ममा काम सम्पन्न गर्ने सम्झौता भएको थियो । मुख्य निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनले सम्झौताअनुसारको मितिमा ४८ प्रतिशतमात्र काम सम्पन्न गरेको थियो ।

निर्माणको रेखदेखको जिम्मा पाएको हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरी सुनसरीका आयोजना प्रमुख विजयकुमार महतोका अनुसार पप्पु कन्स्ट्रक्सनलाई पटक–पटक सम्पर्क गर्दासमेत कार्यालयको सम्पर्कमा आएनन् । यस कारण तीन महिनाअघि सार्वजनिक सूचना नै जारी गरेर पप्पु कन्स्ट्रक्सनसँगको सम्पूर्ण सम्झौता खारेज गरिएको छ ।

कारबाहीस्वरूप निर्माण कम्पनीको धरौटी बापतको तीन करोड रुपैयाँसमेत सरकारले जफत गरिसकेको प्रमुख महतले जानकारी दिनुभयो । ठेक्का नै बदर गर्ने तयारी गरिएपछि सो कम्पनीसँग साझेदार रहेको माहादेवा जेभी भने सम्पर्कमा आएकाले पुनः एक वर्षभित्रमा काम सम्पन्न गर्ने गरी हालै मात्र नयाँ सम्झौता गरिएको जनाइउको छ ।

कन्काईमा ७ सय २४ मिटर लम्बाइको पुल ०७२ जेठ मसान्तमा निर्माण सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म ४८ प्रतिशत मात्र काम सम्पन्न भएको आयोजनाका प्रमुख महतोले जानकारी दिनुभयो । सम्झौताअनुसार पुल ४ वर्षमा पूरा गर्नुपर्ने थियो । तर सम्झौता भएको ८ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन ।

समयमा पुल निर्माण नहुँदा जिल्लाका दक्षिणीक्षेत्रका सर्वसाधारण नदीमा जोखिम र कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । माईपश्चिम र दक्षिणका स्थानीय बासिन्दाले पुल नहुँदा १५ मिनेटको बाटोलाई एक दिन लगाएर घुमेर जानुपर्ने बाध्यता भोग्दै आएको गौरीगञ्ज गाउँपालिका –१ का भागलाल राजवंशीले बताउनुभयो । पुल भ्याटसहित ३४ करोड ४० लाख ९० हजार रुपैयमाँमा ठेक्का दिइएको थियो ।