बेपत्ता बालिका २२ दिनपछि मृत फेला


विनोद सिंह विष्ट, बैतडी । विद्यालयबाटै हराएकी बैतडीकी एक बालिका २२ दिनपछी शंकास्पद रुपमा मृत फेला परेकी छन् ।

गएको असार १७ गतेदेखि हराईरहेकी बैतडीकी बालिका मृत अवस्थामा फेला परेकी हुन । मृत फेला पर्नेमा  बैतडीको दोगडाकेदार २ ढिकगाडकी ८ बर्षीया कलावती सार्की रहेकी छन् । बालिका दशरथचन्द नगरपालिका ४ को ईश्वर आधारभूत विद्यालयको माथिपट्टी रहेको खोल्सामा भेट्टिएकी बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

दोगडाकेदार घर भएकी बालिका मजदुरी गर्दै आएका बुवा दशरथचन्द नगरपालिका ४ बमरोडामा बस्दै आएकी थिइन् । बुधवार अपरान्ह बाख्रा चराउन गएका गोठालाले बालिकाको शव देखेपछी प्रहरीलाई खबर गरेका थिए ।

‘घटना शंकास्पद भएपनि शव सडेको अवस्थामा रहेकोले तत्कालै हत्या हो वा अन्य कारणले मृत्यु  भएको भनेर भन्न सकिने अवस्था छैन ’ प्रहरी निरीक्षक पातलीले भन्नुभयो। बालिकाको अस्थिपञ्जरसंगै उसले बोकेका कापीकिताव पनि फेला गरेका उहाँले बताउनुभयो ।  शवको अस्थीपञ्जर मात्रै बाँकी रहेकाले अनुसन्धानमा समस्या भएको बताइएको छ ।  बालिकाको मृत्युको बिषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

कलावतीका बुवा खडक सार्कीका अनुसार आफूले छोरीलाई असार १७ गते विद्यालय पुर्याएपछि बेपत्ता भएकी बताउन्ुभयो । कलावती ईश्वर आधारभूत विद्यालयमा अध्ययनरत थिइन् ।