बाढीका कारण लाखौँको तरकारी नष्ट 


सरोज यादव, विराटनगर । असार अन्तिम साता आएको बाढीका कारण मोरङका किसानले लगाएको तरकारी बाली नष्ट भएको छ । बाढीको पानी खेतबालीमा पस्दा उनीहरुले लाखौं मूल्य बराबरको क्षति बेहोर्नुपरेको हो ।

मोरङको कटहरी गाउँपालिकाकी ५५ वर्षीय उर्मिलादेवी सिंह यतिखेर सुकेको बोटबाट खोर्सानी केलाउन ब्यस्त छिन् । असार अन्तिम साता आएको बाढी तरकारी खेतमा पस्दा साढे २ कट्ठा क्षेत्रफलमा लगाएको खोर्सानी बोटसहित सुकेपछि उनि यतिखेर खोर्सानी केलाउदै छिन ।

बाढीको पानीका कारण सिंहले १० कट्ठा बढी खेतमा लगाएको परबल, बैगुन, कांक्रा र घिरौलालगायतका अन्य सब्जी समेत बोटसहित सुकेको उहाँले जानकारी दिनुभयो । उर्मिला जस्तै सोही ठाउँका कर्धन सिंहले १० कट्ठा खेतमा लगाएको लगाएको तरकारी समेत नष्ट भएको छ । ऋण गरेर लगाएको तरकारी बाढीको कारण खेतमै सुकेपछि उहाँ चिन्तित हुनुभएको हो ।

तरकारी खेतीबाटै परिवारको बर्षभरि खानपीनका साथै बालबच्चालाई समेत पढाउँदै आउनुभएका उहाँ अब वर्षभरिको खर्च कसरी चलाउने भनेर चिन्तित हुनुभएको छ । बाढीको पानी खेतबालीमा पस्दा सिंहद्वय जस्तै कटहरी–४ का अधिकांश किसानले लगाएका सब्जी खेतमै नष्ट भएको छ । स्थानीय लोहन्द्रा र जुडी खोलाको पानी गाउँपस्दा तरकारीको पकेट क्षेत्रको रुपमा रहेको कटहरी–४ मा व्यापक क्षति पुगेको हो । बाढीको पानीले लगाएको तरकारी बाली नष्ट गर्नुका साथै खेतहरुमा बालुवासमेत थुपारिदिएको छ ।

खेतीयोग्य जग्गामा बालुवा थुप्रिएका कारण त्यसले दीर्घकालसम्म उब्जनी प्रभावित हुने किसानहरुले बताएका छन् । बाढीको कारण तरकारीको पकेट क्षेत्र कटहरीमा ब्यापक क्षति पुगेको गाउँपालिका प्रमुख रामकुमार कामतले जानकारी दिनुभयो । क्षतिको विवरण उठाउने काम भइरहेको उहाँको भनाइ छ ।

तरकारी खेतीलाई संरक्षित गर्नुका साथै स्थानीयबासीले बाढीका कारण प्रायजसो प्रत्येक वर्ष बेहोर्दै आएको बाढीको पीडालाई कम गर्न स्थानीय खोलाहरुलाई तटबन्ध गरेर नियन्त्रण गर्नुपर्ने स्थानीयले माग गरेका छन ।