ग्रामिण सडकको यात्रा, भगवान भरोसा



विमल विष्ट, डोटी ।
वर्षादको समयमा डोटी जिल्लाका अधिकांस ग्रामिण सडकको यात्रा भगवान भरोसामा सञ्चालन हुदै आएका छन् । वर्षादको कारण यहाँका ग्रामिण सडकहरु ठाउँ ठाउँमा हिलाम्मे तथा बिग्रे भत्केका कारण यहाँको सवारी यात्रा जोखिम पुर्ण हुने गरेको छ ।

हिलाम्मे सडकमा यात्रुहरुले ठुलै जोखिम मोलेर गाडको यात्रा गर्नु परिरहेको बोगटान फुड्सिल गाउँपालिका वडान. १ सिमचौरका हस्तबहादुर बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यात्रा गर्दा निकै जोखिम मोल्नु परेको छ,ठुल्ठुला दुर्घटना भईसकेका छन्, भगवानको नाम लिदै यात्रा गर्न बाध्य छौ ।”

डोटीमा वर्षादको समयमा हुने हिलाम्मे तथा बिग्रेकै सडकमा यात्रा गर्दा दजर्नौले अकालमै ज्यान गुमाई सक्दा समेत सडकको स्तरोन्नती नभएको भन्दै स्थानियबासी आक्रोसि हुन थालेका छन् । यहाँका ग्रामिण सडकहरुमा दजर्नौ सवारी दुर्घटना भै सयौले अकालमै ज्यान गुमाई सकेका छन् भने दजर्नौ स्थानिय अपांङ्ग भएका छन् ।
जिल्लाका बुडर जोरायल,सहजपुर बोगटान,दिपायल मेल्लेक,राजपुर चवार चौतारा,दिपायल कप्पलेकी,गड्सेरा,मुडभारा लगायतका अधिकांस कच्ची सडकहरु वर्षादको कारण हिलाम्मे तथा ठाउँ ठाउँमा बिग्रे भत्केका कारण यात्रुहरुले यात्रा गर्दा निकै कठिनाई भोग्नु परेको छ ।

वर्षाको समयमा यि सडकहरुमा यात्रा गर्ने यात्रुहरु आफनो गन्तब्यमा नपुग्दा सम्म भगवानैकै भरमा यात्रा गर्न बाध्य भएको जोरायल गाउँपालिका वडान. ५ गड्सेराका स्थानिय डम्बर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “कच्ची सडकमा यात्रा गर्न निकै जोखिम पुर्ण छ,भगवानको नाम लिदै यात्रा गर्छन् यात्रुहरु ।”

यहाँका सडकहरुको अवस्था निकै दुःख दायी तथा दयनि भएको शैलेश्वरी यातयातका जीप चालक प्रेम मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कच्ची सडकमा गाडी चलाउन निकै कठिन छ,गाडी,यात्रु र आफनो ज्यान हत्केलामा राखेर भएपनि गाडी चलाएका छौ,केही घटना नहोस भन्दै भगवान पुकार्ने गर्छौँ ।” ग्रामिण सडकको यात्रा मात्र नभई यहाँका राजमार्गका सडकको यात्रा पनि भगवान भरोसा नै रहेको छ ।

अत्तरिया स्याउले जोड्ने भिमदत्तराज मार्ग,स्याउले दिपायल जोड्ने डाक्टर केआईसिंह राजमार्ग तथा दिपायल साँफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्गका सडकहरु बिभिन्न ठाउँमा बिग्रे भत्केका तथा वर्षादको समय पहिरो आई यातायात सञ्चालनमा नै अबरोध गर्ने भएकाले राजमार्गको यात्रा पनि कठिन पुर्ण नै रहेको सो राजमार्गमा यात्रा गर्ने यात्रुहरुको गुनासो छ ।

वर्षादको कारण सडक बिग्रिदा यहाँका अधिकांस ग्रामिण सडकहरुमा यात्रुबाहक सवारी साधन चल्न ठप्प भएको शैलेस्वरी यातायात ब्यबसायी समिति दिपायलका कार्यालय प्रमुख हर्कबहादुर महराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अधिकांस सडकहरु हिलाम्मे छन् गाडी चलाउन खोज्योकी दुर्घटना हुने,फस्ने हुन्छन् रिक्स उठाएर गाडी चलाउन सकिदैन् ।” ग्रामिण सडक सञ्चालन नहुदा स्थानिय किसानहरुले फलाएका साँग तरकारी लगायतका अन्य चिजहरु बजार सम्म पठाउन नसकिएको केआईसिंह गाउँपालिका वडान. २ का किसान सेरबहादुर ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले गाउँमा प्रसस्त पानी भएकाले बारीमा टन्न साँग तरकारी फलाएकोछौँ,सवारी साधन बन्द हुँदा बजार सम्म लैजान सकेका छैनौँ ।”

बजार सम्म लैजाने साधन नहुदा किसानले फलाएका साँग गरकारी बारीमै कुहिन थालेको स्थानियबासीहरु बताउछन् । भौगोलिक बिकटता तथा वर्षादले यहाँका सडक बिग्रिदा सवारी सञ्चालनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका प्रमुख मोहनसिंह धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ग्रामिण सडक सबै कच्ची छन्, सानो पानी पर्दा पनि बिग्रीने र पहिरो जाने भएकाले गाउँमा पानी पर्दा खासै गाडी जान पाएका छैनन् ।”

प्रतिक्रिया दिनुहोस्