राष्ट्रिय परिचयपत्र विवरण संकलन सुरु

0
Shares

अमृत अर्याल, स्याङ्जा ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रम अन्तर्गत विवरण संकलनका काम सुरु गरेको छ । जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दासको फोटो खिचेर आवश्यक ब्यक्तिगत विवरण संकलन गरी सो कामको सुरु गरिएको हो ।

संकलन कार्य सुरु भएको जानकारी गराउदै प्रमुख सुन्दासले राष्ट्रिय परिचयपत्रले ब्यक्तिका सबै विवरण बुझाउने हुदा सबैले पत्र बनाउनु पर्नेमा जोड दिनुभयो । जिल्लाका सबै गाउँपालिका, नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा विवरण सङ्कलन गरेर ८ महिनाभित्र सक्नेगरी काम गरिने प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिनुभयो ।

लगत सङ्कलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचय पत्र बाँडिने छ । अबदेखि नागरिकता पाएकै दिन परिचयपत्रको लागि आवश्यक विवरणभरी राष्ट्रिय परिचयपत्र विवरण भर्ने ब्यवस्था मिलाइएको पनि प्रजिअ निरौलाले बताउनुभयो ।

दश अंकको नम्बर रहेको परिचय पत्रमा नागरिकताको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका सबै औठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगाना समेत उल्लेख गर्नुपर्ने हुन्छ । यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचयपत्र ब्यवस्थापन तथा पञ्जिकरण विभागवाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित ब्यक्तिले पाउनेछन ।

सरकारले थप गरेका १५ जिल्ला अन्तर्गत गण्डकी प्रदेशको तनहुँ र स्याङ्जाले राष्ट्रिय परिचय पत्र बितरणको काम सुरु गरेको हो । औठा छाप सहितको विवरण भएको परिचयपत्र स्मार्ट कार्डजस्तो हुने सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले जानकारी दिनुभयो ।