माछा पोखरीमा खतरनाक गोही

0
Shares

रोशन पराजुली, हेटौंडा ।
हेटौंडा–५, पिप्लेस्थित सरकारी स्वामित्वको प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्रको पोखरीमा मगर गोही फेला परेको छ । मंगलबार दिउँसो पोखरीमा गोही देखिएको हो ।

गोही देखिएपछि डिभिजन बन कार्यालय मकवानपुरको टोलीले समातेर चितवन पठाउन खोज्दा फुत्किएर पुनः पोखरीमै पसेको सबडिभिजन बन कार्यालय हेटौंडाका फरेष्टर यदुकुमार घिमिरेले बताउनुभयो ।

मगर गोहीले आक्रमण गर्नसक्ने भएकोले सावधानी अपनाउनुपर्ने उहाँको सुझाव छ । घिमिरेले भन्नुभयो, ‘गोहीका दाँत उल्टो फर्केकाले कुनै पनि जीवलाई दाँतले समातेपछि छाड्ने सम्भावना कम हुन्छ । त्यसैले यसलाई सबभन्दा खतरनाक जनावरको रुपमा लिन सकिन्छ ।’यसअघि पोखरीमा गोही देखिएको थिएन ।

गोही कसरी पोखरीमा आइपुग्यो भन्नेमा अन्योलता छ । तर, कर्रा खोलामा आएको हालैको बाढीका कारण त्यहाँ गोही पुगेको हुनसक्ने आशंका छ । यसबारे चितवन राष्ट्रिय निकुञ्जलाई खबर गरिएको बन कार्यालयले जनाएको छ ।

विज्ञहरुका अनुसार गोही प्रकृतिकै अति संवेदनशील प्राणीमा पर्छन् । यो प्राकृतिक परिवर्तनअनुसार अनुकूल बन्न जान्दैन ।