गण्डकी प्रदेशका सबै स्थानीय तहका उपप्रमुखलाई गाडी सुविधा

0
Shares

विजय नेपाली, पोखरा ।

गण्डकी प्रदेशका सबै स्थानीय तहका उपप्रमुखले पनि अब गाडी सुविधा पाउने भएका छन् । गण्डकी प्रदेश सरकारले उपमेयर तथा उपाध्यक्षले पनि गाडी सुविधा दिन पाउने गरी कानून संशोधन गर्ने निर्णय गरेपछि यस्तो हुने भएको हो ।

गत असार २५ गते बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय तहका जनप्रतिनिधिले दोहोरो सुविधा लिन पाउने र कार्यपालिका सदस्यले पनि वडाध्यक्षकै बराबर हुने गरी सुविधा पाउने निर्णय गरेकै बेला यो निर्णय गरेको थियो । तर, यो निर्णय सार्वजनिक गरिएको थिएन ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐनलाई संशोधन गरी उपाध्यक्ष तथा उममेयरलाई पनि गाडी उपलब्ध गराउन लागिएको हो ।

गण्डकी प्रदेशमा ८५ वटा स्थानीय तह छन् । अब सबै स्थानीय तहका उपप्रमुखले गाडी चड्न पाउने भएका छन् । केही स्थानीय तहले यसअघि पनि गाडी सुविधा प्रयोग गर्दै आएका थिए ।
स्थानीय तहमा सरकारी सेवाबाट निवृत भइ पेन्सन खाइरहेका जनप्रतिनिधिले पनि सुविधा पाउने व्यवस्था गर्ने निर्णय मन्त्रिपरिषदले गरेको थियो । गण्डकी प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सेवासुविधा सम्बन्धी ऐनलाई संशोधन गर्दै दोहोरो सुविधा लिन पाउने व्यवस्था मिलाउन लागेको हो ।

सदनबाट पारित भएपछि यो यो व्यवस्था लागु हुने बताइएको छ ।