संसद बैठक बस्दै, बाढी पहिरोबारे छलफल हुने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
केही दिनदेखि अवरुद्ध संसद बैठक आज चल्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरूद्ध नगर्ने जनाएपछि संसद बैठक चल्ने भएको हो ।

सभामुख कृष्णबहादुर महरा र सत्तारूढ नेकपा बाढी पहिरोबारे सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्न तयार भएपछि अवरोध हट्ने भएको बताइएको छ ।

यसअघि कांग्रेसले सर्लाहीमा भएका दुई घटनाको संसदीय छानबिन माग गर्दै संसदमा अवरोध गर्दै आएको थियो।

कांग्रेसले गत असार ३० गतेको बैठकमा स्थगन प्रस्ताव दर्ता गराएको थियो। कांग्रेसले संसदको कार्यसूचीका सबै विषय हटाएर बाढी पहिरोमा छलफलको प्रस्ताव राखेको थियो। तर स्थगन प्रस्ताव अघि गृहमन्त्रीले बोल्न पाउनुपर्ने अडान सत्तापक्षले राखेपछि सूचनामार्फत् बैठक स्थगित भएको थियो।

प्रतिनिधिसभा बैठक साढे २ बजेका लागि तय भएको छ।