बैतडी जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइते रिफर

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।

दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको खोडपेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दार्चुलाको महाकाली नगरपालिका ९ दत्तुका ३५ बर्षीय इश्वर नागरी रहेका इलाका प्रहरी कार्यालय पाटन प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिनुभयो ।

दुर्घटनामा पनि दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा दार्चुलाको महाकाली नगरपालिका ९ दत्तुका २३ बर्षीय पुस्कर नागरी र २२ बर्षीय हिक्मत समान्त रहेका छन् । घाइतेमध्ये पुस्करको अवस्था गम्भीर रहेको छ ।

उनलाई उपचारको लागी धनगढी लगिएको छ । हिक्मतको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक नागरीको शव परिक्षणका लागी पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

दार्चुलाबाट धनगढी जाँदै गरेको ग १ ज ५२२४ नम्बरको जिप बुधबार बिहान सवा ५ बजेतिर पाटन नगरपालिका–८ खोड्पेको बन्तड भन्ने भीरमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बाक्लो कुहिरो तथा साघुँरो सडक भएका कारणले जिप दुर्घटनामा परेको प्रहरीको अनुमान रहेको छ ।

यसैबिच बैतडीवाट कैलालीको धनगढी जादैं गरेको जिप कैलालीको बुढितोलामा दुर्घटनामा परेको छ । बैतडीको पञ्चेश्वरवाट धनगढी जादैंै गरेको से १ ज १०७८ नम्वरको बोलेरो जिप आज बिहान ८ बजेतिर बुढितोला नजिकै दुर्घटना परेको हो ।
जिप दुर्घटना हुँदा जिपमा सवार ६ जना घाइते भएका कैलाली प्रह्रीले जनाएको छ ।

घाइते हुनेहरुमा बैतडीको तल्लोस्वराडका हजारी चन्द, दुर्गा चन्द, जनक चन्द, रमेश चन्द, शिव कडेल र यमकान्त भुषाल रहेका छन् ।

पानी परिरहेको र बाक्लो हुस्सु कारण जिप दुर्घटनामा परेको प्रहरीको अनुमान रहेको छ ।