विप्लवका जिल्लास्तरीय तीन नेता रिहा


राम धामी, डडेल्धुरा ।
डडेल्धुरामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका तीन जिल्ला सदस्य रिहा भएका छन् । जिल्ला अदालतको आदेशमा उनीहरु मंगलबार रिहा भएका हुन् । तीनै जना १२÷१२ हजार धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

रिहा हुनेमा परशुराम नगरपालिका–११ का जिल्ला सदस्य कृष्ण विक (अरुण), परशुराम नगरपालिका–५ परिगाउँका जिल्ला सदस्य इन्द्रदेव भट्टराई (शिखर) र सोही ठाउँका जिल्ला सदस्य रामदत्त भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक लक्ष्मण खड्काले जानकारी दिए ।

इन्द्रदेव र रामदत्त भट्टराइलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गरिएको थियो भने विकलाई अदालतको आदेशअनुसार थुनामा नराखी अनुसन्धान गरिएको प्रहरी निरिक्षक खड्काले बताए । उनीहरुमाथि राज्यविरुद्धको कसुर अपराध विरुद्धको मुद्धा लगाइएको थियो । इन्द्रदेव र रामदत्त भट्टराई गत असार २३ गते पक्राउ परेका थिए भने विकलाई असार ३१ गते प्रहरीले पक्राउ गरेको थियो । रिहा भएलगत्तै तीनै जनाले सरकारद्वारा प्रतिबन्धित नेकपाको राजनीति नगर्ने जनाएका छन । प्रेस विज्ञाप्ति जारी गर्दै उनीहरुले स्वास्थ्यका साथै अन्य कारणले सो पार्टीको राजनीति गर्न नसक्ने जनाएका छन ।