अन्ततः पछि हट्यो एसएसबी

आफूले खनेको खाल्डो आफैँ पुरेर सडक अवरोध हटायो


गणेश घिमिरे, इलाम ।
नेपाल भारत सीमावर्ती इलाम सूर्योदयनगरपालिका पशुपतिनगर स्थित चारमाइल सडकको अवरोध हटेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उक्त सडकमा खाल्डो खनेर आउजाउ गर्न नै अवरोध गरेको थियो । तर मंगलबार सूर्याेदय नगरपालिकाका जनप्रतिनिधि, पशुपतिनगरस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयलगायतको पहलमा एसएसबीले आफैले खाल्डो पुरेर अबरोध हटाएको हो ।

नगरपालिकाका मेयर आरबि राईले सो क्षेत्रको अनुगमन पश्चात एसएसबीलाई अबरोध हटाउन अनुरोध गर्नुभएको थियो । एसएसबीले अबरोध गरेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरी पशुपतिनगर इकाईसँग भारतका एसएसबी इकाईले वार्ता गरेपछि सडक खुलाउन एसएसबी तयार भएको थियो । नेपाल भएर भारततिर छिर्ने चारमाइलको वर्षाैं पुरानो कच्ची सडकमा खाडल खनेर एसएसबीले आउ–जाउ अवरोध गरेको थियो । नेपालतर्फको तरकारी भारत लैजान रोक्नेगरी सडकको दशगजामा खाडल खनेर अवरोध गरेको थियो ।

नेपालमा उत्पादित ठूलो परिमाणको तरकारी पशुपतिनगरबाट भारत जान्छ । एसएसबीले ‘माथिको आदेश’ भन्दै सडकमा खाल्डो खनेर अबरोध गरेको थियो । तत्काल सीमामा सडक खन्ने वा अवरोध गर्ने कामले विवाद बढाउने, तिक्तता सिर्जना गर्ने दुवै पक्ष सहमत भएपछि एसएसबीले सडक अवरोध खुलाउन तयार भएको पशुपतिनगरस्थित सशस्त्र प्रहरी इन्स्पेक्टर सशांकजंग कार्कीले बताउनुभयो । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पूर्वी सीमा क्षेत्रका नेपालीमाथि अनावश्यक दुःख दिने गरेको छ ।

सीमा क्षेत्रको नेपाली भूमिमा सडक, घर, चर्पी बनाउन समेत अबरोध गर्ने गरेको छ । एसएसबीले दसगजा जहाँ पर्छ, त्यहीं खाडल खनेर बाटो बन्द गराएको थियो । इलामको पूर्वी साढे ५२ किलोमिटर भूभाग भारतसँग जोडिएको छ । सीमास्तम्भ नभएको, भएपनि लामो दूरीमा मात्र भएकाले सीमा नै कहाँ हो भन्ने पत्ता लगाउन समस्या छ । केहि महिना अघि एसएसबीले सन्दकपुर गाउँपालिका–५ जमुनाको गैरीबास–कालपोखरी ट्रेकिङ रुट निर्माणको काम समेत अबरोध गरेको थियो ।

यस्तै दसगजा नजिकै निर्माण भएको माइजोगमाई गाउँपालिका–२, मेघमाका प्रदीप तामाङको घर पनि भत्काइदिएको थियो । सन्दकपुर गाउँपालिका–५ मा ४÷५ वटा घरपनि दशगजामै परेको भन्दै एसएसबीले भत्काउन ताकेता गरिरहेको पीडित बताउँदै आएका छन् । भारतले सीमा हेर्न ३–३ किलोमिटरमा एसएसबीको क्याम्प राखे पनि नेपालतर्फ प्रहरीको उपस्थिति अत्यन्त पातलो छ । नेपालतर्फ भने सिमा हेर्नका लागि पशुपतिनगरमा भर्खरै मात्र सशस्त्र प्रहरीको बेश क्याम्प (बिओपि) स्थापना भएको छ । जुन बेश क्याम्प अपर्याप्त छ ।

अन्तराष्ट्रिय मान्यताअनुसार दुई देशबीचको दशगजामा कुनै संरचना बनाउन पाइँदैन । तर एसएसबीले पछिल्लो समय सीमावर्ती सन्दकपुर र माइजोगमाई गाउँपालिका तथा सूर्याेदय नगरपालिकाका बासिन्दालाई नेपालभित्रै बनेका संरचनासमेत भत्काउन दबाब दिइरहेको स्थानीयको गुनासो छ । भारतसँगको पूर्वी सीमामा भौतिक संरचना बनाउनेदेखि एसएसबीको दुव्र्यवहार हुने घटना नयाँ भने होइन । पटकपटक भारतीय सीमा क्षेत्रमा समस्या बल्झिने गरेको छ ।