चिनियाँ तथा फ्रेन्च भाषा अनुशिक्षण तालिम सम्पन्न


काठमाडौं ।
‘भिजिट नेपाल २०२०’ लाई सहयोग पुर्‍याउने उद्धेश्‍यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षार्थ खटिएका प्रहरी कर्माचारीहरुका लागि संचालित चिनियाँ तथा फ्रेन्च भाषा विषयक अनुशिक्षण तालिम सम्पन्न भएको छ ।

तालिम समापनका अवसरमा मंगलबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्दिप भण्डारीले तालिम समापन गर्दै तालिमले भिजिट नेपाल २०२० लाई प्रवर्द्धन गर्न, विदेशीले बोलेका कुराहरु बुझेर सेवा प्रदान गर्न र नेपाल सरकारको पर्यटक भित्र्याउने योजनामा समेत सहयोग पुग्ने बताउनुभयो ।

प्रहरी कर्मचारीहरुलाई तालिममा सिकेका सिपलाई व्यवहारमा लागू गरी यात्रुमैत्री सेवा प्रवाह गर्न निर्देशन दिँदै उहाँले तालिमले व्यवसायिक तथा व्यक्तिगत जीवनमा समेत सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । सेवाग्राहीलाई सन्तुष्ट पार्न उनीहरुको अपेक्षा र नेपाल प्रहरीको दृष्टिकोण र उद्देश्य अनुसार सेवा प्रदान गर्नुमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरीले यात्रुहरुलाई प्रभावकारी सेवा प्रवाह गरिरहेकोले प्रहरीप्रति नागरिकमा राम्रो छाप परेको बताउनुभयो ।

विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीहरुलाई चिनियाँ तथा फ्रेन्च भाषाको ज्ञान भई यात्रुहरुलाई परेका समस्यालाई सजिलै समाधान गरी सभ्य, शिष्ट, नम्र व्यवहार गरी यात्रु सेवामैत्री बनाई स्मार्ट प्रहरीको रुपमा कार्य गरी राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा समेत प्रहरीको छवि उच्च राख्ने तथा ‘भिजिट नेपाल २०२०’ लाई प्रवर्द्धन गर्ने हेतुले उक्त तालिम संचालन गरिएको हो ।

दुई दिवसीय उक्त तालिममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षार्थ खटिएका विमानस्थल प्रहरी, केन्द्रीय प्रहरी विशेष कार्यदल, डग शाखा, ट्राफिक प्रहरी, पर्यटक प्रहरी लगायतको सहभागिता रहेको थियो ।

विगतमा अंग्रेजी भाषा, ज्यकउष्तबष्तिथ लगायत आचरण र व्यवहार सम्बन्धी, प्रहरी आचरण व्यवहार तथा अंग्रेजी भाषा तालिम र सकारात्मक सोचको विकाश तथा अंग्रेजी भाषा र शिष्‍ट व्यवहार विषयक अनुशिक्षण तालिम समेत संचालन भएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।