युवती प्रयोग गरि ४० लाख असुल गर्न खोज्ने चार जना समातिए


भद्रपुर । झापाको बिर्तामोडका एकजना व्यवसायीलाई बन्धक बनाएर रकम असुल गर्न खोज्ने एक युवतीसहित चारजनालाई बिर्तामोड प्रहरीले सोमबार पक्राउ गरेको छ ।

युवतीलाई प्रयोग गरेर (हनी ट्रयापिङ) व्यवसायीलाई बन्धक बनाई ४० लाख रुपैयाँ असुल गर्न खोज्ने गिरोहका चारजनालाइ इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो ।

घटना विवरण अनुसार असार २८ गते बिर्तामोडका नाम चलेका एकजना व्यवसायीलाई नचिनेको नम्बरबाट ’इमो’ मा फोन गरी मिठो स्वरमा माया जालमा पारी दुबैबीच परिचय भएको थियो । मिठो स्वरमा फोन गरेकी युवतीबाट ती व्यवसायी प्रभावित भएपछि दुवैबीच घनिष्टता बढ्दै गयो । मोबाइल नम्बरमा, इमो, भाइबर र ह्वाट्सएप चारैतिर उनीहरूको सम्पर्क भयो । उनीहरूबीच प्रेमका कुरा चले, यौनका विषयमा पनि उनीहरू खुला भए ।

साउन १ गते युवतीले आफू बिर्तामोडको भद्रपुर रोड आइसकेको भन्दै व्यवसायीलाई भेट्ने इच्छा देखाएर फोन गरिन् । युवतीले भेट्न बोलाएपछि व्यवसायी पनि उनले बताएको स्थानमा पुगे । अन्दाजी १९–२० वर्षकी ती युवतीलाई भेट हुने बित्तिकै व्यवसायीले होटल जाने प्रस्ताव गरे । असुरक्षा हुने भन्दै युवतीले त्यो प्रस्ताव अस्वीकार गरेपछि भद्रपुर रोडमै साथीको कोठा भएकोले त्यहीँ जाने प्रस्ताव युवतीले राखिन् । उनीहरू कोठामा पुग्दा त्यहाँ कोही थिएनन् । बेलुका ८ बजे उनीहरू ढोकामा चुक्कुल लगाएर बसेका थिए ।

यत्तिकैमा कसैले ढोका ढक्ढक्यायो । ढोका खोल्नासाथ हातमा छुरा बोकेका दुईजना युवाले व्यवसायीलाई कुटपिट गर्न थाले । छुरा र प्लास्टिकको पेस्तोल देखाउँदै उनलाई कोठाभित्र बन्धक बनाइयो । नाटकीय ढंगबाट किशोरीलाई त्यहाँ रहेका मध्ये मिराज खान भन्ने युवाले बाहिर लगेर छोड्छन् । त्यतिबेलासम्म सञ्जु क्षेत्री भनिने सुजन शंकर र प्रकाश दासले उनको नाङ्गो फोटो र भिडियो तयार गरिसकेका हुन्छन् । साउन ५ गतेसम्ममा ४० लाख रुपैंयाँ दिने शर्तमा व्यवसायीलाई त्यहाँबाट मुक्त गरिन्छ । यति गर्दा रातको १० बजेको हुन्छ । रकम जम्मा हुँदै गरे नगरेको बारेमा लगातार उनीहरूले ताकेता गरिरहेका हुन्छन् । पैसा नदिए ज्यान मार्ने धम्की समेत उनीहरूले दिएका हुन्छन् ।

आफ्नै बेवकुफीबाट फसेका ती व्यवसायीको त्यति ठूलो रकम दिने अवस्था थिएन । उनले दुईवटा बाटो देखे कि ज्यानको माया मार्ने कि प्रहरीलाई खबर गर्ने । उनले दोस्रो विकल्प रोजे ।

व्यवसायीले इलाका प्रहरी कार्यालयमा घटनाको विस्तृत विवरण बताउँछन् । त्यसपछि प्रहरीले पीडितलाई जाहेरी दरखास्त दिन लगायो । र, भित्रभित्रै घटनामा संलग्नहरूको खोजी सुरु गर्यो ।

पीडितलाई फोन आएका मोबाइलमा सम्पर्क गरेर साउन ४ गते झापाको चारआलीबाट बिर्तामोड नगरपालिका ४ घर भएका को मेराज खान, सोही स्थानका प्रकाश दास र भारत पश्चिम बंगालको र्दािजलिङ थाना खोरिबारी घर भएका सञ्जु क्षेत्री भन्ने सुजन शंकरलाई प्रहरीले पक्राउ गर्यो ।
त्यसलगत्तै ‘हनी ट्रयापिङ’ का लागि प्रयोग भएकी इलामको फाकफोकथुम गाउँपालिका १ घर भई बिर्तामोड नगरपालिका २ चारपाने बस्ने रीतु फियाक लिम्बुलाई प्रहरीले बिर्तामोडबाट पक्राउ गर्यो ।

प्रहरीले उनीहरुबाट बा १५ च ७३३९ नम्बरको कार, स्कुफ लेखिएको १०० मिलिमिटरको सिलप्याक बोतल ३ थान, प्लास्टिकको नक्कली पेस्तोल, प्रोप्रानोल लेखिएको १ पत्तामा १५ चक्की र निट्रोसन १० लेखिएको १ पत्तामा ४ चक्की खाली भई ६ चक्की रहेको औषधी बरामद गरेको छ । पक्राउ परेकामाथि शरीर बन्धक बनाई अवान्छित लाभ लिन खोजिएको आरोपमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मोहन थापाले बताउँनुभयो ।

अभियुक्तहरूले संगठित अपराध गर्नका लागि बिर्तामोडस्थित भद्रपुर रोड कुमारी बैंक पश्चिमपट्टीको गल्लीभित्र एउटा घरको चारतला फ्ल्याट लिई अपराधिक क्रियाकलाप गर्दै आइरहेको कुरा अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताउँनुभयो । राजधानी काठमाडौंमा सुनिँदै आएको यस प्रकारको संगठित अपराध पूर्वमा पहिलो पटक थाहा पाएको झापाका प्रहरी प्रवक्ता श्रेष्ठले बताउँनुभयो ।