राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति बर्खास्त गर्न सिफारिस


काठमाडौँ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगिता भण्डारीमाथि कारवाहीका लागि सिफारिस गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीको संयोजकत्वमा जेठ ३० गते गठन गरिएको छानबिन समितिले प्रतिष्ठानकी उपकुलपति भण्डारी अनियमिततामा संलग्न रहेको निष्कर्षसहित बर्खास्त गर्न उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवसमक्ष सिफारिस गरेको हो ।

उपकुलपति भण्डारी अनियमिततामा संलग्न रहेको निष्कर्षसहित मन्त्रीयादवसमक्ष प्रतिवेदन बुझाएको छानबिन समितिका एक सदस्यले जानकारी दिए।

छानबिन समितिका संयोजक बुर्लाकोटीले राप्तीको विषयमा तयार भएको प्रतिवेदन स्वास्थ्यमन्त्रीसमक्ष बुझाएको बताए। दुई सचिवको रोहबरमा मन्त्रीसमक्ष छानबिन प्रतिवेदन बुझाएको बताउँदै प्रतिवेदनमा भएका विषय अत्यन्तै संवेदनशील रहेकाले मिडियामा सार्वजनिक गर्न नमिल्ने जिकिर गरे । ‘सरकारले जुन विषयमा केन्द्रित रहेर छानबिन समिति गठन गरेको हो त्यो प्रतिवेदनले समेटेको छ।’

समितिका एक सदस्यका अनुसार उपकुलपति भण्डारीले राज्यलाई आर्थिक व्ययभार पर्ने विषयमा अर्थ र स्वास्थ्य मन्त्रालयको स्वीकृत नलिई आफूखूसी निर्णय गरेको पाइएको छ । ऐनसँग बाझिनेगरी नियम र निर्देशिका बनाएको तथ्यसमेत फेला परेको छानबिन समितिका ती सदस्यको भनाइ छ । भण्डारीले पदीय आचरणविपरीत काम गरेको पाइएको र प्रतिष्ठानको नेतृत्व गर्न असक्षम रहेकाले पदबाट हटाउनुपर्ने निष्कर्षसहित समितिले प्रतिवेदन बुझाएको समितिका ती सदस्यले बताए ।

‘मन्त्रालयको सम्पत्ति र स्वीकृति नलिई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलगायतका पदाधिकारी तथा कर्मचारीको सेवा सुविधामा आफूखुसी गरेको राज्यको स्रोतसाधन दुरुपयोग गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जउलाखेलमा महँगो भाडा तिरेर सम्पर्क कार्यालय खोलेको तथा मंहगा सवारीसाधन खरिद गरेर दुरुपयोग गरेको पाइयो,’ छानबिन समितिका एक सदस्यले भने। छानबिन समितिले सामान खरिदमा भुक्तानी गर्दाको प्रक्रिया पूरा नगरेको र क्वालिटी परीक्षण नै नगरी भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख गरेको छ। त्यस्तै प्रतिष्ठानले स्टाफ नर्सको परीक्षामा अनियमितता गरेको निष्कर्ष निकालेको छ ।