स्थानीयवासी र जनप्रतिनिधिको पहलमा कटान नियन्त्रणको प्रयास 


सरोज यादव, मोरङ । मोरङको पुर्वाेत्तर क्षेत्र भएर बहने बक्राहा खोलामा आएको बाढीले कटान तीब्र भएपछि स्थानियबासीले नियन्त्रणको प्रयास गरेका छन ।

कटानका कारण उर्लाबारीसहित आसपासका गाँउहरु जोखिममा परेपछि बाँसको पाइलिंग निर्माणगरि कटान नियन्त्रणको प्रयास गरिएको छ । सन्थाल समुदायको २० घरपरिवारको बसोबास रहेको उर्लाबारी ८ स्थित बगर टोलमा यतिखेर बक्राहा खोलाको बाढी कुदिरहेको छ । खोलामा आएको बाढीले सिंगो गाँउ नै कटान गरेपछि त्यहाँका बासिन्दा बिस्थापित हुनुपरेको हो ।

२०७४ सालमा आएको बाढीबाट सो ठांउबाट १४ परिवार विस्थापित भएका थिए भने गएको असार २८ गते आएको बाढीका कारण बांकी रहेका ६ परिवार समेत विस्थापित भएका छन । बिस्थापित परिवार यतिखेर उर्लाबारी नगरपालिका ८ राजघाटस्थित बहादुर बाबा चौधरी आधारभुत विद्यालयमा शरण लिएका छन । कटानका कारण बगरटोल पुरै खोलामा परिणत भइसकेको देखेका त्यसक्षेत्रका बासिन्दा रातभरि निदाउन समेत सकेका छैनन ।

स्थानिय डेगमाया सोरेनले आफुहरुको घरपनि कटान हुने हो कि चिन्ताले रातभरि जाग्राम बस्ने गरेको पीडा ब्यक्त गर्नुभयो । सो क्षेत्रमा खोलाले कटान तीब्र गरेका कारण नजिकैको बस्तीहरु समेत जोखिममा परेपछि स्थानियबासी र जनप्रतिनिधिको पहलमा कटान नियन्त्रणको प्रयास गरिएको छ । खोलालाई थप कटान गर्नबाट रोक्न त्यहाँ प्रकोपाइन बिधिबाट बाँसको पाइलिग गरि कटान नियन्त्रणको प्रयास गरिएको छ ।

सरकारी निकायबाट कटान नियन्त्रणको प्रयास नगरिएपछि स्थानियबासी आफैले बाँसको जोहो गरेर श्रमदानगर्दै कटान नियन्त्रणको प्रयास गरेका छन । प्रदेश सभा सदस्य कुलप्रसाद साम्बाको पहलमा सो ठांउमा ३ सय मिटर बढी क्षेत्रमा बाँसको पाइलिंग गरिएको वडाध्यक्ष कुलबहादुर कार्कीले बताउनुभयो । उहांले नगरपालिकाको पहलमा खोलाको धार परिवर्तन गर्न च्यानल खन्ने काम समेत भएको जानकारी दिनुभयो ।

बाँसको पाइलिंग गरि तत्कालकालागि कटान नियन्त्रण गर्न सकिएपनि त्यो दीर्घकालिन नहुने भएका कारण त्यसक्षेत्रमा स्थायी तटबन्ध निर्माण गर्नुपर्ने स्थानियबासीले माग गरेका छन । प्रदेश सभा सदस्य कुलप्रसाद साम्बाले सानो तिनो बजेटले तटबन्ध निर्माण सम्भव नहुने हुनाले संघीय र प्रदेस सकारको संयुक्त पहलबाट स्थायी तटबन्ध निर्माण गरिनुपर्ने विचार ब्यक्त गर्नुभयो ।

उर्लाबारी ८ को सो क्षेत्रबाट कटान गरेर बक्राहा खोला बस्ती पसे त्यसबाट पथरी नगरपालिकाको हसनदह र रतुवामाई नगरपालिकाको वडानम्बर १० समेत प्रभावित हुने स्थानियले जानकारी दिएका छन ।